बराहक्षेत्रः जातीय राजनीतिको एजेन्डालाई भर्र्याङ् बनाएर राजनीति गर्दै आएका नेताहरु चुनावपछी आफ्नै एजेन्डालाई चटक्कै बिर्सिने गर्दछन् । बहुजातीय, बहुभाषिक, बहुसंस्कृतिको बाहुल्यता रहेको मुलुकमा यसखाले राजनीति वर्षौंदेखि चली आएको छ । विश्लेषक भन्छन्, ‘मेरो भेगमा फलानो जातिको बाहुल्यता छ, मैले टिकट पाएभने त्यही एजेन्डा भजाएर चुनाव जित्छु भनेर पार्टीभित्रबाट टिकट ल्याएर आउँछन् तर चुनाव जितेपछि यादै गर्दैनन् ।’नेपालको परिवेशमा गरिबको गरिबीको राजनीति गरेर माथी उक्लिने नेताहरुको लिस्ट निकै लामो देखिन्छ तर ती विपन्न समुदायको जीवनस्तर भने उस्तै पाइन्छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका ११ वडाको कहानी पनि यस्तै छ । शिक्षा र सञ्चारको प्रमुख समस्या रहेको यस् वडामा स्थानीयहरुबीचमा धार्मिक तालमेल नमिलेर झैझगडा समेत हुने गरेको घट्नाहरु आउने गरेका छन् । जनसाङ्ख्यिक रूपमा झन्डै आधाजस्तो मुस्लिम समुदायको बसोबास रहेपनि यहाँ ५ हजार ७ सय ३६ मतदातामध्ये १२ सय भन्दा बढी मुस्लिम समूदायका मतदाता छन् ।

आउँदो स्थानीयतह चुनावको लागि यस् वडाको प्रमुख पदमा ५ जनाको उम्मेद्बारी रहेको छ । ४ जना राजनीतिक दलबाट प्रतिनिधित्व गर्दै चुनावी मैदानमा छन् भने एक जनाले स्वतन्त्र उम्मेद्बारी दिएका छन् । जसमध्ये नेपाली कांग्रेसका कृष्ण कुमार महत्वो र नेकपा एमालेका गोकुल श्रेष्ठबीचमा निर्णायक प्रतिस्पर्धा हुने विश्लेषकहरुको बुझाइ छ ।

खासगरी यहाँका अधिकांश मुस्लिम समुदायहरु शिक्षाको पहुँचबाट भर्खरै तङ्ग्रिदै गरेको अबस्था छ । त्यस्तै, बराहक्षेत्र नगरको सदरमुकाम चक्रघट्टीदेखी सबैभन्दा टाढा दुरीमा रहेको यस् वडाका बासिन्दाहरु प्रभावकारी स्वास्थ्य सेवाबाट समेत बञ्चित छन् । ५ देखि १० प्रतिशत जनसंख्या मात्र आर्थिक रूपमा सवल रहेको स्थानीय अगुवा बताउँछन् ।

स्थानीय एक अगुवा भन्छन्,‘यहाँ एउटा राम्रो मदरसा भएदेखि भावी सन्ततिको लागि आफ्नो पहिचान नसकिनेगरी शिक्षा दिन सकिन्थ्यो ।’ आर्थिक सबलीकरणको निम्ति उचित योजना अघि सारेर शिक्षा, स्वास्थ्य, सञ्चारको पहुँचमा ल्याउन सक्नु यहाँको पहिलो आवश्यकता देखिएको छ । यद्यपि यहाँका उमेदवारहरुले त्यसखाले रणनीतिलाई अघि सारेको पाइँदैन । विभिन्न तालिम तथा सबलीकरणका कार्यक्रमहरु अघि सारेर मुस्लिम समुदायलाई दीर्घकालीन रोजगारको अबसर प्रदान गर्न सके मात्र उनीहरू आर्थिक रूपमा शसक्त हुने बुझिन्छ ।

के भन्छन् उमेदवारहरु ?

नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षको उमेदवार बनेका कृष्ण कुमार महत्वोले मुस्लिम समुदायको प्रमुख आवश्यकता शिक्षा नै रहेको बताए । प्रदेशपोर्टलसँगको कुराकानीमा उनले भने, ‘हिन्दु र मुस्लिमहरुलाई समान दृष्टिकोणले हेर्न यस् समुदायलाई शिक्षाको आवश्यकता छ, जुन चुनाव जितेपश्चातको मेरो प्रमुख दायित्व हुनेछ ।’

त्यस्तै, नेकपा एमालेका तर्फबाट उम्मेद्बारी दिएका गोकुल श्रेष्ठले समेत हिन्दु र मुस्लिम एकै हुन् भनेर बुझाउनेगरी शिक्षा दिएमा यहाँको समुदायगत समस्या हट्ने बताए ।
बराहक्षेत्र नगरमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को चुनावी तालमेल भएपनि यस् वडामा भने दुबै दल छुट्टाछुट्टै चुनावी मैदानमा छन् । मुस्लिमहरुमै राजनीतिक एकता नभएकोले यहाँको समुदाय पछी परेको माओवादी केन्द्रका उमेदवार राजकुमार शाहले बताएका छन् । उनी भन्छन्, ‘कोही कांग्रेस, कोहि एमाले त कोहि माओवादी भएकाले यहाँको समुदाय अघि बढ्न सकेन तर यसको लागि मसँग एउटा योजना छ, जुन मैले चुनाव जितेपछि कार्याबन्यन गर्छु ।’

यसैबीच जनता समाजवादी पार्टीका उमेदवार महेन्द्र खत्वेले समेत यहाँको समुदायगत समस्याको रूपमा शिक्षाको अभाव भएकाले सर्वप्रथम मुस्लिम समुदायलाई शिक्षाको पहुँचमा ल्याउने आफ्नो योजना रहेको बताए ।

त्यस्तै, स्वतन्त्र उम्मेद्बारी दिएका आजाद अन्सारीले भने आफूले वर्षौंदेखि यी समुदायको समस्या र चुनौतीसँग घुलमिल हुँदै आएकाले उनीहरूलाई अन्य समुदाय जस्तै समानता दिलाउने योजना आफूसँग रहेको बताएका छन् । उनले भने, ‘मैले चुनाव जितेपछि के गर्नुपर्छ भनेर सोचिसकेको छु, तब मैले बोल्नुभन्दा ज्यादा काम गरेर देखाउन जरुरी ठानेको छु ।’