इटहरीः स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा आफ्नो स्थानीय तहमा प्रतिस्पर्धामा उत्रिएका उम्मेद्वार को हुन् भनेर बुझ्ने इच्छा जाग्नु स्वभाविक हो । मत हाल्नु नागरिकको अधिकार र दायित्व पनि हो । त्यो मत सही व्यक्तिलाई हालियो भने मतको सदुपयोग भएको सम्झनु पर्छ भने गलत व्यक्तिलाई गयो भने पाँच वर्ष फेरि पछुताउनुको विकल्प नागरिकसँग हुँदैन । त्यसैले पनि मताधिकार प्रयोग गर्दा उम्मेद्वारको बारेमा राम्रो बुझेर मत दिनु राम्रो मानिन्छ ।
आज हामीले आसन्न निर्वाचनको लागि इटहरी उपमहानगरको उपमेयरमा उम्मेद्वारी दिएका केशवकुमार बिष्टसँग पाठकलाई परिचित गराउने जमर्को गरेका छौँ । इटहरी उपमहानगरका सत्ता गठबन्धनका चार दलले तालमेल गरेर मेयर, उपमेयरको उम्मेद्वार सार्वजनिक गरेका छन् । सोही अनुसार उम्मेद्वारहरुले आफ्नो मनोनयन दर्ता गराएका छन् । उपमहानगरको भागबण्डा लगाउने क्रममा नेपाली कांग्रेसको भागमा इटहरीको मेयर पद पर्याे भने उपमेयर नेकपा एकीकृत समाजवादीको भागमा पर्यो । केशवकुमार बिष्ट नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य हुन् ।
लामो समय बामपन्थी राजनीतिमा लागेका बिष्ट तत्कालीन नेकपा एमालेसँग विद्रोह गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । नेकपा एमालेमै छँदा पनि माधव नेपाल पक्षधर भएकाले पनि एमालेमा विद्रोह गर्ने बेलामा समानान्तर कमिटीदेखि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत दुई पटकसम्म गरेको प्रतिनिधि सभा बिघटनको विरोध गरिरहने नेता हुन् केशव कुमार बिष्ट पनि ।
२०३५/०३६ सालमा विद्यार्थी आन्दोलनबाट प्रभावित भएर जनता माध्यमिक विद्यालय इटहरीको प्रथम अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्य भई विद्यार्थी राजनीतिमा होमिएका बिष्ट त्यतिबेला १४ बर्षका थिए । पञ्चायतविरोधी आन्दोलन गरेको आरोपमा २०३६ साल पुस १३ गते पक्राउ परेका बिष्ट विद्यार्थीको जुलुस दवावको कारण नाबालक भएकाले रिहा भएका थिए ।
जनमत सङ्ग्रह हुँदाका बखत बहुदलको पक्षमा बालनेताको रुपमा समेत सक्रिय बनेका बिष्ट त्यतिबेला नै कतिपय कोणसभामा वक्ताको रुपमा समेत निकै चर्का र र मिठा भाषण गर्न पोख्त भइसकेका थिए ।
२०४२ सालमा केन्द्रीय तथ्याङ्क विभागमा जागिर खाएका बिष्ट त्यहाँ जागिरे रहँदा समेत कर्मचारी वृत्तमा रहेर बाम आन्दोलनमा उत्तिकै सक्रिय भए । तथ्याङ्क विभाग कर्मचारी सेल कमिटीको सचिव भई २०४६ साल सम्म क्रियाशील बिष्टले २०४६ सालको जनआन्दोलनमा समेत सक्रिय सहभागिता जनाएका थिए ।
उनले २०४२ सालदेखि २०४५ सालसम्म ‘अन्धोको पनि आँखा खुलेको हुन्छ’ नामको टेलिफिल्ममा समेत अभिनय गरे । राजधानीमा बसेर अभिनयमा अग्रसरता लिएपछि धेरैले चिन्ने पात्र बनेका बिष्टलाई इटहरी फर्किँदा इटहरीको पहिलो कलाकार भनेर सम्मानित बनेका थिए ।
कुनै बेला बेष्ट एक्टरको रुपमा गोल्ड मेडल नै पाएका बिष्टले कुनै बेला बेष्ट डाइरेक्टरको उपाधि समेत हात परेको पाइन्छ । युवालाई सङ्गठित बनाउने, रंगकर्म गर्ने साथै खेल खेल्ने र खेलाउने बिष्टकै अग्रसरतामा इटहरीमा रंगस्रष्टा नामक नाटक समूह पनि बनेको थियो । बिष्टले नै खेलेको ‘मिर्मिरेमा’ टेलिफिल्म बहुदल आएदेखि २०४६ सालबाट हरेक वर्ष चैत २४ गते ११ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भइरह्यो ।
कलाकारिता क्षेत्रमा अग्रणी भएको हुनाले उनलाई जनसांस्कृतिक मञ्चको सल्लाहाकारको जिम्मेवारी दिइएको रहेछ । प्ररायु संघको नगर कमिटीको अध्यक्ष समेत थिए केशव त्यत्तिबेला । पछि २०५४ सालमा प्ररायु संघ नेपालको सुनसरी जिल्ला अध्यक्ष भए । अनि २०५९ मा केन्द्रीय सदस्य र २०६१ म प्ररायु संघको सचिवालय सदस्य समेत भएका थिए बिष्ट ।
२०५५ सालमा भने नेकपा एमालेको इटहरी नगर कमिटीको सचिवालय सदस्य भएका थिए । केशवको राजनीतिक रफ्तार निकै तीव्र भएको थियो । २०५८ सालमा नगर कमिटी सचिव, २०६१ मा नेकपा एमालेको जिल्ला कमिटी सदस्य र २०६३ मा जिल्ला कमिटीको सचिवालय सदस्य बनेका बिष्ट २०६९ मा नेकपा एमालेको राष्ट्रिय परिषद सदस्य र २०७६ मा प्रदेश कमिटी सदस्य बनेका थिए ।
दुरदर्शी र पार्टीलाई अब्बल बनाउन क्रियाशील बिष्ट कुनै समय पूर्वाञ्चल खेलकुद विकास समितिको अध्यक्षको भूमिकामा थिए । कुनै बेला युवा संघ निकै बलियो थियो । वडा समितिको अधिवेशन गरेर प्रतिनिधि छनोट भएर मात्रै नगर कमिटीमा आउनु पथ्र्याे । त्यही युवा संघमा थिए बिष्ट पनि ।
२०६६ सालमा जब खेलकुद महासंघको फर्मेसन भएको थियो हो, त्यतिबेला केशव बिष्ट खेलकुद महासंघको पहिलो सदस्य थिए । केही समयपछि सोही संघको केन्द्रीय उपाध्यक्ष समेत भएका थिए । खेलकुदमा सक्रिय भएकै कारण उनले २०५४ सालमै इटहरी नगरपालिकाको खेलकुद संयोजकको भूमिका निर्वाह गरेका थिए ।
२०५६ मा जिल्ला खेलकुद विकास समिति सुनसरीको उपाध्यक्ष भएका बिष्टले पछि राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने अवसर पाए । ४ वर्षे कार्यकाल विवादरहित बिताएका केशवले देशभरी नै खेलकुदका क्षेत्रमा निकै महत्वपूर्ण कामहरु गरेका थिए ।
इटहरीमा रंगशाला निर्माण गर्नको लागि केशवको ठूलो र लामो लडाइँ परेको रहेछ । हुन त भित्री सङ्घर्ष गर्नेलाई मात्रै थाहा हुन्छ । धेरै खेलहरु एउटै मैदान अर्थात् कम्पाउण्डमा खेल्न मिल्ने इटहरीको रंगशालाको लागि आफूले ३७ करोड रुपैयाँ निकासा गराएको बिष्ट बताउँछन् ।
आस्था फाउण्डेसनका अध्यक्ष, नेपाल योग तथा प्राकृतिक चिकित्सा संघका केन्द्रीय अध्यक्ष, योगा स्पोर्टस् फाउण्डेसन साउथ एशियाको सदस्य तथा नेपाल सेपाकगक संघको वरिष्ठ उपाध्यक्ष समेत रहेका बिष्टले २०४६ सालमै अभिनयमा स्वर्ण पदक पाएका थिए । २०४८ सालमा उत्कृष्ट नाटक निर्देशकको उपाधि पाएका उनी कर्मचारी रहँदाका बखत तीन पटकसम्म उत्कृष्ट कर्मचारीको पुरस्कार पाएका व्यक्ति हुन् ।
तपाई इटहरी उपमहानगरको उपमेयरमा किन भन्ने प्रश्नमा आफू इटहरीको विकासप्रति चिन्तित रहेको र अबको पाँच वर्षभित्र इटहरीलाई महानगरको यात्रामा अघि बढाउन आफ्नो उपमेयरमा उम्मेद्वारी रहेको बिष्ट बताउँछन् । भलिबल खेलबाट उदाएका केशव खेलप्रेमी भएकै कारण पार्टीमा समेत खेलकुद विभागको प्रमुख तथा नेपाल खेलकुद महासंघ समाजवादीको अध्यक्ष समेत हुन् ।
आफूले इटहरी उपमहानगरको उपमेयरमा जीत हासिल गर्न सके इटहरीलाई स्पोर्ट सिटीको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताउने बिष्ट इटहरीलाई खेलमय र पर्यटकीय हबको रुपमा विकास गर्न आफ्नो उम्मेद्वारी भएको बताउँछन् । इटहरीमा भएको चारदलीय सत्ता गठबन्धनका तर्फबाट कलम चुनाव चिह्न लिएर चुनावी अभियानमा होमिएका बिष्टलाई जीतको अग्रिम शुभकामना छ ।