सुनसरीः सत्तारुढ गठबन्धनबीच सुनसरीमा भागबण्डा गर्ने विषयमा नेपाली कांग्रेस अनिच्छुक देखिएपछि गठबन्धनको सम्भावना न्यून बन्दै गएको छ ।

नेपाली कांग्रेसले केन्द्रबाट मिलाएको धरान र इटहरीबाहेक एउटा पालिका पनि छाड्न नमानेपछि सुनसरीमा गठबन्धनमा रहेका दललाई भावण्डा मिलाउन सकस परेको हो ।

दुई उपमहानगरसहित १२ पालिका रहेको सुनसरीमा उपमहानगरको भागवण्डा केन्द्रबाट मिलेको छ । तर बाँकी रहेका १० पालिका कांग्रेसले दाबी गरेपछि गठबन्धन गर्न सकस परेको हो ।

नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी १० पालिकाको नेतृत्वमा कांग्रेसको दाबी रहेको बताउँछन् । पार्टी भित्रबाट प्रेसर रहेको बताउँदै अहिलेसम्म गठबन्धनका दलहरुबीचको दावेदारीले सुनसरीका अन्य पालिकामा गठबन्धनबीच चुनावी तालमेल हुने सम्भावना न्यून रहेको बताए ।

उनले भने, ‘अहिलेको स्थितिमा सुनसरीका नगरपालिका र गाउँपालिकाहरुमा गठबन्धनको सम्भावना न्यून छ ।’
उनका अनुसार माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीले एक–एक पालिका मागेको छ । दुवैको दाबी बराह नगरपालिकामा छ ।

माओवादी केन्द्र प्रदेश–१ उपाध्यक्ष शिव डाँगी दुई वटा उपमहानगरको नेतृत्व छाडेका कारण सुनसरीमा माओवादीले एउटा पालिका पाउनुपर्ने दाबी गरेको बताउँछन् ।

‘दुई वटा उपमहानगर छाड्यौ, हामीले एउटा पालिका मागेकामा दाबी गरेका छौं,’ माओवादी केन्द्र प्रदेश १ का उपाध्यक्ष शिव डाँगीले भने,‘ कांग्रेसले सहमतिका लागि चासो देखाएको छैन ।’

२०७४ सालको स्थानीय तह निर्वाचनमा ९ वटा पालिका जितेको नेपाली कांग्रेसले सुनसरीमा १२ वटै पालिका नछोड्ने बताएको छ ।

‘उपमहानगर छाडेका कारण हामीले एउटा पालिका पाउनुपर्छ,’ डाँगीले भने,‘ पालिका पाइएन् भने केन्द्रको निर्णय कसरी कार्यान्यवन गर्ने भन्ने प्रश्न उठ्छ ।’

नेकपा एकीकृत समाजवादीका सुनसरी अध्यक्ष गोविन्द निरौला कांग्रेस सुनसरीको रामधुनी र बराहक्षेत्र बाहेक अरु कुनैपनि पालिकामा गठबन्धन गर्ने पक्षमा नरहेकोले समस्या भएको बताए ।

उनका अनुसार जनता समाजवादी पार्टीले देवानगञ्ज र भोक्राहा नरसिंह गाउँपालिकाको नेतृत्व नछाड्ने, जसपालाई कांग्रेस दिन नसक्ने स्थितिले सुनसरीका अन्य पालिकामा गठबन्धनको सम्भावना कमजोर बनेको बताए ।

अध्यक्ष निरौलाले आफूहरुले बराहक्षेत्रमा मेयर र रामधुनी नगरपालिकामा उपमेयको दावी गरेपनि माओवादीले बराह क्षेत्रको मेयरमा दावी नछाडेकोले समस्या भएको भन्दै अब जिल्ला स्तरमा भन्दा पनि स्थानीय तहमै गठबन्धनको छलफल गरेर भागबण्डा मिलाउने सम्भावना बाँकी रहेको बताए ।

उनले भने, ‘ बराहक्षेत्र र रामधुनीको दावी माओवादीले नछाडे उबाहेकको गठबन्धन पनि अगाडि बढ्न सक्छ । तर अहिलेको स्थितिमा गठबन्धन हुने सम्भावना कमजोर छ ।

जिल्ला भरी गठबन्धन नभएपनि पालिका तहमा आवश्यकताको आधारमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेलको सम्भावना भने जीवितै रहेको छ ।

नेकपा एसका अध्यक्ष निरौला भन्छन, ‘जिल्ला भरी तालमेलको सम्भावना न्यून छ तर पालिका स्तरमा भने हुन सक्छ । उनले रामधुनी र बराह क्षेत्रमा गठबन्धनमा रहेका केही दलहरुबीच तालमेलको सम्भावना रहेको बताए ।

तर नेपाली कांग्रेस इनरुवा नगर कार्य समितिका सभापति एवम मेयर राजन मेहता आफू गठबन्धन बनाएर नै निर्वाचनमा जाने पक्षमा रहेको बताउँछन । उनी भन्छन, ‘ सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गरेर अगाडि बढ्ने पक्षमा म छु । मनोनयनको अन्तिम समयसम्म पनि म यसको लागि प्रयास गर्छु ।’

नेकपा माओवादी केन्द्र इनरुवा नगर कमिटी अध्यक्ष तोया गिरी इनरुवामा गठबन्धनको सम्भावना न्यून बन्दै गएको बताउछिन । उनी भन्छिन, ‘गठबन्धन बनाएर निर्वाचनमा जाने विषयमा कांग्रेसभित्र रुचि देखिएको छैन । त्यसैले हामीले अन्य विकल्पमा छलफल थालेका छौ ।’

उनका अनुसार इनरुवामा जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल गरेर जाने विषयमा छलफल सुरु भएको छ । कांग्रेससले गठबन्धनप्रति अरुची कायमै राखे फरक गठबन्धन बनाएर साझा उम्मेदवारलाई चुनावमा पठाउने गरी उनीहरुले छलफल थालिसकेका छन ।

नेकपा एस नगर कमिटी अध्यक्ष सुवास राई पनि इनरुवामा गठबन्धनको विषयमा कांग्रेसभित्रै समस्या रहेको बताउँछन । उनी भन्छन, ‘कांग्रेसका दुई दावेदारहरु जिल्ला सभापति केदार भण्डारी र नगर सभापति राजन मेहताले अर्कोले टिकट पाएमा किन जित्न सहज बनाउने भन्दै ईवी साध्ने हिसावमा गठबन्धन गर्न चाहिरहेका छैनन तर उम्मेदवार घोषणा भएपछि आफ्नो जितको लागि एकले प्रयास थाल्ने सम्भावन भने छ ।’

जनता समाजवादी पार्टीले भने इनरुवाको मेयरमा दिलिपचन्द साहलाई सर्वसम्मत उम्मेदवार बनाएर चुनावी अभियान नै अगाडि बढाईसकेको छ ।