इटहरीः इटहरी उपमहानगरपालिकामा अघिल्लो स्थानीय तहको चुनावमा धेरैको चुनाव जित्नै प्रयासलाई असफल बनाउँदै सफल भएका नगरप्रमुख सहित सबै जनप्रतिनिधिको दिनगन्ती सुरु भएको छ ।
यसपटक इटहरीको स्थानीय सरकारको पाँच बर्षलाई चियाउँदै त्यहि सरकारका मुख्य कार्यकारी तथा नगरप्रमुख र उपप्रमुखले आफ्नो सरकार बन्नुपुर्व जनतालाई गरेको बाचा कत्तिको पुरा गरे त अथवा चुनाव ताका जनतालाई सपना जस्तै बाँडिएका घोषणापत्र कत्तिको पुरा भए त कत्ति गर्न बाँकी रहे भन्ने बिषयबस्तुमा रहेर यो सामाग्री प्रस्तुत गर्न खोजिएको छ ।
जनतासँग भोट माग्न प्रयोग गरिएको इटहरीका मेयर र उपमेयरको घोषणापत्र हेर्दा लाग्छ त्यो सपना बाँड्नमात्रै घोषणा गरिएको हो, विकास गर्न होइन् । गौरव पुर्ण इतिहास सानदार बर्तमान, सवृद्ध इटहरीका लागि सुर्यमा मतदान भन्ने मिठो नारा दिएर जनताको भोट हत्याएको एमालेका दुवै मेयर र उपमेयरले इटहरीको नेतृत्व हात पारे । मेयरमा द्धारिक लाल चौधरीले विजय हासिल गरे भने उपमेयरमा लक्ष्मी गौतमले विजय हासिल गरिन् तर पाँच बर्ष पछि सो पार्टीले तयार गरेको घोषणापत्र हेर्दा लाग्छ घोषणापत्र कार्यन्वायनको लागि ल्याइएको होइन त्यो त जनतालाई आफ्नो पंजामा पार्न मात्रै ल्याएको हो ।
आकर्षक भाषण र घोषणापत्रको मिठो सपना बाँडेर स्थानीय तहको निर्वाचनमा विजयी बनेका इटहरीका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतम कत्तिको सफल बने त के निर्वाचनमा गरिएका सबै वाचा पुरा भए ? धेरै जनताको उत्तर ‘नो’ नै छ ।
निर्वाचनमा जनतालाई आफ्नो बसमा पार्न सार्वजनिक गरिएको घोषणापत्रमा भनिएजस्तै न त सय दिनमा बनाउँछु भएको एउटा सार्वजनिक शौचालय बन्न सकेको छ न त खोला पैनी मिचेर बनेका संरचनामा भत्काएर इटहरीको हरेक बर्ष डुव्ने समस्याको समाधान नै हुन सकेको छ ।
बेला बेला संचारकर्मीले पाँचबर्षे कार्यकालबारे सोधिने प्रश्नमा अझै पनि इटहरीका एमाले नेता तथा जनप्रतिनिधिहरु पाँच बर्षमा इटहरीमा विकासका काम धेरै भएको भन्न छुटाउँदैनन् ।
खोला पैनीको दिर्घकालिन व्यवस्थापन गर्ने भनेर चुनावी भोषणमा मात्रै नभई घोषणापत्रमै बनेको इटहरी सरकारले अहिले सम्म पनि दिर्घकालिन विकासका लागि के गर्न सकिन्छ भनेर मास्टर प्लान नै बनाएको छैन बरु करको दुरुपयोग गर्दै हरेक बर्ष अस्थाई तटबन्ध बनाएर पैसा सक्ने काममात्रै गरेको छ ।
इटहरीमै एक नागरिक समाजले आयोजना गरेको कार्यक्रममा सर्वदलिय सहमति बने ढल पैनी मिचिएका संरचना भत्काउन थाल्ने भनेर उपमेयरले बाचा समेत गरिन तर त्यो कार्यान्वायन हुन सकेन् ।यसले पनि उपमहानगरले पाँच बर्षमा आकर्षक घोषणापत्र मात्रै बनाएको तर काम भने नगरेको स्थानीयबासी बताउँदै आइरहेका छन् ।
स्थानीय तहको घोषित निर्वाचन नजिकिएपछि संघीयता कार्यान्वायन पछिको पहिलो स्थानीय सरकार बनेका जनप्रतिनिधिको पाँच बर्षको निर्मम समिक्षा गर्नैपर्छ । जनताले पनि त्यहि समिक्षा गरेर अर्को निर्वाचनमा कुन पार्टी तथा कस्तो जनप्रतिनिधि छान्ने भन्ने निर्णय गर्छन् ।
इटहरी सरकार आफ्नो पार्टीको बन्न सके उपमहानगरको विकास लागि अधिकार सम्पन्न उपमहानगर योजना आयोग गठन गर्ने नारा सार्वजनिक गरेको एमालेले योजना आयोगको नाम निसानानै देखाएको छैन् । निर्वाचनबाट विजयी भएको अन्तिम बर्षमा बल्ल विकासको मोडल मास्टर प्लान भन्दै बजेट छुटाएको पाइएको छ । निर्वाचित भएपछि आपसी द्धन्द्धमा रुमलिएका मेयर र उपमेयरले विकासको नाममा केही कच्चि सडकलाई पक्की बनाउने बाहेक अन्य विकास गर्न नसकेको बिपक्षीहरुले आवाज उठाउने गरेका छन् । त्यती काम त २० बर्षसम्म कर्मचारीले स्थानीय तह चलाउँदा पनि नगरेका भने होइनन् ।
भ्रष्ट्राचार शुन्य सहनसिलताको नीति अवलम्बन गर्ने भन्दै घोषणा गरेका यहाँका मेयर चौधरी आफैँ नीतिगत भ्रष्ट्राचारमा चुलुम्म डुवेको आरोप विपक्षीदलहरुको छ । पदलाई स्वार्थमा जोडेर मेयर चौधरीले नगरपालिकाको टिपर र डोजर प्रयोग गरेर आफ्नो घडेरी व्यवस्थापनमा बाटो खन्ने र माटो पुर्ने देखि लिएर उपमेयरलाई गाडी दुरुपयोग गरेको आरोप लगाउँदै इटहरीबासीले कर तिरेर किनेको नगरपालिकाको उपमेयर चढ्ने गाडी आफ्नो निजि सम्पत्ति झैँ गरेर आफ्नै घरमा लगेर राख्नुलाई नितिगत भ्रष्ट्राचार भन्न मिल्ने तर्क विश्लेषकको छ । त्यती मात्रै होइन् जहाँ जहाँ आफ्नो जग्गामा बजेट लगानी छ, त्यही त्यहीको बाटो कालोपत्रे गर्ने काम पनि मेयर चौधरी ५ बर्षे कार्यकालमा थुप्रै गरेको पाइएको छ ।
त्यत्तिमात्रै नभएर एमालेको पहिलो प्रतिवद्धता पत्रमा भनिएको इटहरीको बाढी नियन्त्रण तथा ढल निकासको समस्याको समाधान गर्ने घोषणा समेत कागजमै मात्र सिमित देखिन्छ । स्थानीय निकायको चुनाव घोषणा भएको पुर्व सन्ध्यामा नयाँ नारा लिएर तिनै पार्टीका उम्मेद्धवारहरु आउने बेला भएकाले पहिले गरिएको बाचा पुरा भए त भनेर नियाल्नु पर्ने इटहरीका माओवादी केन्द्रका एक नेताले सुझाएका छन् । उनले बर्षेनी डुवानको समस्या बेहोर्ने इटहरीले डुवानको समस्या समाधानको लागि स्थायी समाधान केही पनि नपाएको टिप्पणी गरेका छन् । उनले खोला, नाला, पैनि मिचेर पार्टीको कार्यालय र घर बनाएको भन्दै इटहरी ५ स्थित मेयरको चर्चामै रहेका एमाले नेताको घर भत्काउन इटहरी नगरपालिकाले पत्र पठाएको र मेयर डोजर लिएर भत्काउन जाने भन्ने हल्ला गरिएको पनि राजनितिक संरक्षणमा निर्धा र निमुखालाई मात्रै मेयरले हेपेको टिप्पणी नेकपा माओवादी सम्बद्ध नेताको छ ।
जनता स्वास्थ्य सेवाबाट आजित हुँदा पनि इटहरी अस्पतालको स्तरोन्नती हुन नसकेको तथा इटहरीमा सुबिधा सम्पन्न हस्पिटल बनाउन नसक्नुका साथै आफ्नो पाँच बर्षे कार्यकालमा एउटा पनि सार्वजनिक शौचालय निर्माण नसक्नुलाई पनि इटहरी सरकारको कमजोरीमा रुपमै टिप्पणी गरिएको छ । इटहरीलाई आकाशे पुल भन्दै आहा इटहरी भन्ने योजना घोषणामा मात्रै सिमित छ भने पाँच बर्ष सम्मै अथाहा सम्भावना हुँदा पनि विकासका काममा केही गर्न नसकेको टिप्पणी इटहरी सरकारका प्रतिपक्षहरुले गरेका छन् ।
निर्वाचन ताका नै एक बर्ष भित्र नगरको प्रष्ट चित्र झल्किने गरी प्रोफायल तयार गर्ने भनिएको प्रोफायल कहाँ छ त्यो नगरबासीले अहिले पनि खोजिरहेका छन् । त्यसो त इटहरीका हरेक प्रवेशद्धारमा स्थानीयता झल्किने गरी प्रवेशद्धार निर्माण गर्ने घोषणाले पनि जनप्रतिनिधिलाई अहिलेसम्म गिज्जाइरहेको छ ।
अव पनि यीनै पार्टीहरु अर्को आकर्षक घोषणापत्र बनाउने तयारीमा जुटिसकेका छन् । तर जति समय बदलिँदै छ त्यति जनता पनि शिक्षित हुदैछन् यसो हुनाले जनतालाई पहिले जस्तै झुक्काउन त त्यति सहज छैन तर अव पनि त्यस्तै पुरा गर्न नसक्ने घोषणापत्रमात्रै ल्याउने तर काम भने सिन्को नभाच्ने भयो भने जनताले उक्त पार्टीको मुल्यांकन आफैँ गर्नेछन् ।