बराहक्षेत्रः १ नम्बर प्रदेशकै दुईवटा उपमहानगरपालिका भएको जिल्ला– सुनसरी । उपमहानगरद्वय धरान र इटहरीपश्चात सुनसरीमा महत्त्वपूर्ण रूपमा हेरिने नगर हो, बराहक्षेत्र नगरपालिका । विभिन्न प्राकृतिक एबम् सांस्कृतिक महत्त्व बोकेको यस् भूमिलाई राजनीतिक हिसाबले भने कम्युनिस्टको ‘पक्कड’भएको स्थान मानिन्छ । उसो त साविक ५ वटा गाविस मिलेर बनेको बराहक्षेत्र नगरका प्रथम मेयर र उपमेयर नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । राष्ट्रिय जनगणना २०७८ का अनुसार ९१ हजार, ८ सय ९१ जनसंख्या रहेको छ भने निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार बराहक्षेत्रमा ६३ हजार ६ सय ६८ जना मतदाताको संख्या पुगेको छ ।

सुनसरीकै कान्छो र ठूलो नगरपालिकाका रूपमा परिचित यस् नगरलाई कम्युनिस्ट र कांग्रेसको ‘शाख’ जोगाउने हेतुले यस् चुनावलाई विशेष रूपमा हेरिएको छ । एमाले पुनः आफ्नो बिरासत जोगाउने दौडमा छभने कांग्रेस‘बिरासत’ भत्काउन चाहान्छ । कम्युनिस्ट नेता मनमोहन अधिकारीले चुनाव लडेको यस् भेगमा कम्युनिस्टहरु आफ्नो दबदबा रहेको बताउँछन् भने कांग्रेस गिरिजाप्रसाद कोइरालाले समेत यसैठाउँबाट चुनाव लडेको हुँदा कांग्रेसको लेगेशी बराहक्षेत्रमा छुट्टै छ ।

मतको हिसाब किताब

यहाँको जनमतको हिसाव गर्दा यसअघि २०७४ सालको निर्वाचनमा दलहरुले प्राप्त गरेको मतलाई हेर्नुपर्छ । गठबन्धनका अन्य दल माओवादी केन्द्र, जनता समाजवादी पार्टीको मत जोड्दा पनि कांग्रेसलाई जीत निकाल्न त्यत्ति सजिलो भने छैन् ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेका मेयर उम्मेदवार निलम खनालले १४ हजार ४ सय ४६ र उपमेयर उमेदवार कमला मगरले १४ हजार ६ सय ९ मत ल्याएर विजयी भएका थिए भने नेपाली कांग्रेसका मेयर उम्मेदवार बाबुराम बिष्टले ११ हजार ४ सय ८९ र उपमेयर उमेदवार पूजा धामीले ११ हजार, ३ सय ५९ मत प्राप्त गर्दै पराजित भएका थिए । यो तथ्यलाई हेर्दा समग्र नगरमा कांग्रेसभन्दा एमालेको मत ६ प्रतिशत मत बढी छ । यस हिसाबले कांग्रेसलाई मेयर र उपमेयर दुबै जित्नको निम्ति ३ हजार १ सय १५ मत आवश्यकता पर्दछ ।

अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार कमल बहादुर कट्वालले २ हजार ७ सय ३८, उपमेयर संगीत राईको २ हजार, ८ सय ८३ मत र चुनावी तालमेल गरेका दुई दल नयाँ शक्तिका मेयर उमेदवार मेम कुमार राईले ८ सय ८३ र संघीय समाजवादी फोरम नेपालकी उपमेयर उमेदवार फूलमाया घिमिरेको ७ सय ४६ मत जोड्दा कांग्रेसलाई ३ हजार ६ सय २६ मत थप हुनेछ । यसरी यसपटक कांग्रेसले मेयर र उपमेयरमा २ सय ८८ मतको झिनो अन्तरले जीत हासिल गर्ने देखिन्छ ।

राष्ट्रिय जनमोर्चाको मत समेत गठबन्धनलाई आउँछ भनेर मान्ने होभने उसलाई ५८ मत थप हुनेछ । गत स्थानीय चुनावमा राष्ट्रिय जनमोर्चाका तर्फबाट मेयर उठेका अमृत बहादुर पाण्डेले २५ मत प्राप्त गरेका थिएभने उपमेयर उमेदवार देबी कुमारी खड्काले २८ मत पाएकी थिईन । यद्यपि बराहक्षेत्रमा हाल राष्ट्रिय जनमोर्चाको संगठन (नगरसमिती) समेत छैन् ।

‘गठबन्धन’हुनेमै शंका

तीनै तहको निर्वाचनसम्म गठबन्धन रहनेगरी नेपाली कांग्रेसले निर्णय गरेको छ । यद्यपि बराहक्षेत्रमा भने गठबन्धनबारे शंका–उपशंका उब्जिरहेको छ । कांग्रेसका एक पङ्ति कांग्रेसको बिरासत कांग्रेसलेनै धान्नुपर्नेमा अडिक छन् ।

अन्य दलसँग आवश्यकता भन्दा बढी पदमा सम्झौता गरेर कांग्रेसले बिलय हुन नहुने एक पंक्तिले तर्क अघि सारेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष कमल बहादुर कटवालले समेत माओवादीले उचित स्थान नपाए एक्लै चुनाव लड्छु भन्नेखाले अभिव्यक्ति दिएका छन् । यता, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भनेर गठबन्धनको विकल्प नरहेको दाबी गर्दै आएको छ ।

यद्यपि जिल्लामा सनिवार बसेको गठबन्धन समन्वय समितिको बैंठकले भने यहाँका १२ वटै पालिकामा गठबन्धन गरेर जाने छलफल भएको स्रोतले जनाएको छ । बराहक्षेत्र नगरमा पनि अन्तरपार्टी सहमति र अन्य दलसँगको उचित ुसम्झौताु गरेर मात्रै गठबन्धन हुने बुझिएको छ । नेपाली कांग्रेस बराहक्षेत्रका सभापति रमेश कार्कीकाअनुसार आज(सोमबार) गठबन्धनका अन्य दलसँग छलफल गरेर अघि बढ्ने योजना रहेको छ ।

एमालेलाई ‘सकस’

यसपटकको आकंलन गर्दैगर्दा ०७४ सालको निर्वाचनको मत परिणामलाई आधार मानेर मात्रै हिसाव किताब गर्दा पूर्ण नहुन सक्छ । किनकि त्यसयता थुप्रै पार्टीहरु मिल्ने र विभाजित हुने क्रम चलिसकेको छ भने नयाँ मतदाताको रुझानले पनि परिणाममा धेरै फेरबदल ल्याउन सक्छ । ०७४ सालको चुनावयता काँग्रेस र फोरम लोकतान्त्रिकबीच एकता भयो भने एमाले विभाजित भयो । यस्तै, तत्कालीन नयाँ शक्ती पार्टी अहिले जनता समाजवादीमा समाहित भएको छ, जसको प्रत्यक्ष फाइदा कांग्रेसले उठाउन सक्छ । त्यस्तै, हालका नगर प्रमुख खनालको ५ वर्ष कामको गति चित्त बुझ्दो छैन ।

जनताहरु रुष्ट भएको देखिन्छ भने पार्टीभित्रै समेत नगरको कामकार्वाहीप्रति बिमती पैदा हुने गरेको एमाले निकट नेताहरू बताउँछन् । अर्कोतर्फ फुटेर गएको दल एकीकृत समाजवादीले समेत राम्रो संख्यामा मत काट्ने अनुमान गरिएको हुँदा पनि एमालेको उम्मेदवारले चुनाव हार्नसक्ने आधार हुने काँग्रेसको बुझाइ देखिन्छ । कांग्रेसनिकट एक नेताले भनेका छन्, ‘गत निर्वाचनमा हामीले पार्टीभित्रैकै अन्तर्घातले चुनाव हारेका हौ, तर यसपालि सबैले सहयोग गरेर अघि जाने कुरा भएको हुँदा एकजुट भएको कांग्रेसले नतिजा आफ्नो पक्षमा ल्याउछ ।’

को–को छन् उम्मेदवार बन्ने लडाईंमा ?

नेपाली काँग्रेसका झण्डै आधा दर्जन बढी नेताहरू बराहक्षेत्रको प्रमुख पदका मुख्य दाबेदार छन् । जसमा वर्तमान नगर सभापति रमेश कार्की, प्रत्याशी मेयर बाबुराम बिस्ट, प्रदेश महासमिति सदस्य रमेश कार्की, उधोग बाणिज्य संघ बराहक्षेत्रका अध्यक्ष सुरेन्द्र गुप्ता, केन्द्रिय महाधिवेशन प्रतिनिधि अनु गुरुङ, महासमिति सदस्य जगत बहादुर कार्की, क्षेत्र नम्बर ४‘क’सभापति उपेन्द्र कटवाल र प्रदेश १‘ख’उमेदवार बुद्वी कटवाल रहेका छन् ।

त्यस्तै, सत्तारुढ एमालेबाट बराहक्षेत्रको प्रमुखका लागि वहालवाला प्रमुख निलम खनाल, लेखा आयोगका केन्द्रिय सदस्य डिबि शाहशंकर, नगर उपाध्यक्ष र सचिव क्रमशः सीता भण्डारी पौडेल र राजेन्द्र कार्की, प्रदेश सदस्य बद्रीनाथ घिमिरे, ५ नम्बर वडा अध्यक्ष राजु अधिकारी लगायत उम्मेदवारको तयारीमा छन् ।

माओवादी केन्द्रबाट प्रदेश सदस्य नरेन्द्र बस्नेत, नगर इन्चार्ज पुष्प ढुंगाना, नगर अध्यक्ष र सचिव क्रमशः कमल बहादुर कटवाल र अमित गौतम, नेताहरु गणेश पान्डे, राजन कटवालको नाम चर्चामा छ ।  यस्तै जनता समाजवादी पार्टीका तर्फबाट जिल्ला सचिव प्रदीप कार्कीको नाम चर्चामा रहेको छ भने एकीकृत नेकपा समाजवादीबाट नगर अध्यक्ष र सचिव क्रमशः चन्द्र मगर र पुष्प राजधामी, पार्टिका केन्द्रिय परिषद सदस्यद्वय युवराज कट्वाल र लक्ष्मण चौधरी, केन्द्रिय सदस्य केसब प्रसाद तिम्सिना र जिल्ला उपाध्यक्ष सिताराम पराजुली दाबी गरिरहेका छन् । यद्यपि पछिल्लो समय संगठन बिस्तारमा सक्रिय रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भने आकांक्षीको चर्चा पाइदैन ।