रामधुनीः स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने निश्चित भएपछि सुनसरीको रामधुनी नगरपालिकामा चुनावी चर्चा सुरु भएको छ ।

रामधुनीका मुख्य प्रतिस्पर्धी मानिएका दलहरु नेकपा (एमाले) र नेपाली कांग्रेस गाउँ–गाउँमा संगठन बिस्तार गर्दै स्थानीय सरकार आफ्नो दलको बनाउँने कसरथमा जुटेका छन् ।

मुख्य प्रतिस्पर्धी दलहरु चुनावी मैदानमा होमिए पनि नेकपा माओवादी, नेकपा (एस), जसपा, राप्रपा लगायतका अन्य साना दलहरु भने बर्तमान सत्ता गठबन्धन मिलेर चुनावमा गए आफ्नो भाग पर्ने र फाइदा उठाउँने दाउमा छन् ।

रामधुनीमा मेयरका उम्मेदवार धेरै छन् । दलहरुलाई पार्टी भित्रै निर्विरोध उम्मेदवार बनाउँन निकै सकस पर्ने सम्भावना छ ।

कांग्रेसलाई दोहोरिने, एमालेलाई पुरानो विरासत फर्काउँने चुनौती

यसअघिको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको रामधुनी नगरपालिकामा आगामी निर्वाचनमा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

रामधुनीलाई कुनै समय एमालेको ‘लाल किल्ला’ माथिन्थ्यो । तर अघिल्लो स्थानीय निर्वाचनमा एमाले नेता नन्दकुमार बस्नेतलाई बर्तमान मेयर जयप्रकाश चौधरीले मेयरमा हराइदिएपछि कांग्रेसले ‘कम्युनिष्ट किल्ला’ भत्काएको चर्चा चल्ने गरेको छ ।
‘कम्युनिष्ट किल्ला’ भत्काएको कांग्रेसलाई यसपटक पुनः मेयरमा आफ्नै पार्टीको मेयर दोहोर्याउँने चुनौती छ भने एमालेलाई आफ्नो पुरानो विरासत फर्काउँदै आफ्नो पार्टीको मेयर जिताउँने चुनौती छ ।

अन्य साना नेकपा (माओवादी), जसपा र नेकपा (एस), राप्रपा लगायतका दलहरु भने बर्तमान सत्ता गठबन्धन मिलेर चुनाव लडे लाभ लिने ध्याउँन्नमा छन् । हारिने निश्चित भएकाले साना दलहरुमा उम्मेदवारी दिन खासै नेताहरुको जोड देखिदैन ।

एमाले–कांग्रेसमा ५–५ जनाको चर्चा

रामधुनी नगरपालिकाको मेयरका लागि नेकपा (एमाले) मा ५ जनाको चर्चा सुरु भएको छ । एमाले जिल्ला कमिटी सदस्य एवं भासी गाविसका पूर्व अध्यक्ष शंकरलाल चौधरी, जिल्ला संगठन विभाग प्रमुख नन्दकुमार बस्नेत, पार्टी जिल्ला उपसचिव एवं प्रचार विभाग प्रमुख राम कोइराला, पार्टी जिल्ला सदस्य एवं वडाअध्यक्ष डेगराज फुयाल र पार्टी रामधुनी नगर सचिव एवं वडा अध्यक्ष घनश्याम चौधरी चर्चामा छन् ।

त्यस्तै, नेपाली कांग्रेसमा पनि मुख्यत ५ जनाकै चर्चा सुरु भएको देखिन्छ । कांग्रेसबाट बद्रिनारायण चौधरी, बर्तमान मेयर जयप्रकाश चौधरी, डिल्ली कार्की, वर्तमान नगर सभापति सुदीप अधिकारी र गएको कांग्रेस महाधिवेशनमा नगर सभापतिका पराजित उम्मेदवार सगेन चौधरी चर्चामा छन् ।

अघिल्लो निर्वाचनको नजिताले भन्छ– रामधुनीमा एमाले र कांग्रेसबिच नै मुख्य प्रतिस्पर्धा

अघिल्लो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित बर्तमान मेयर जयप्रकाश चौधरीले ९ हजार ७ सय ०६ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार नन्दकुमार बस्नेतले ८ हजार ८ सय ५० मत ल्याएर पराजित भएका थिए ।

रामधुनीमा एमाले र कांग्रेसबिच नै मुख्य प्रतिस्पर्धा हुने हो । अन्य साना दलहरुको प्रभाव खासै छैन । अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रले १३६५ मत प्राप्त गरेको थियो । त्यस्तै, मधेशी जनअधिकार फोरमले ३८३ मत प्राप्त गरेको थियो, जुन दल अहिले कांग्रेससँग एकता भएर गएको छ । त्यस्तै, राप्रपाले १८१ मत, जसपाले १६५ मत प्राप्त गरेका थिए ।

अघिल्लो स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा बर्तमान सत्ता गठबन्धन कायम भएर स्थानीय निर्वाचनमा गए नेकपा (एमाले) लाई रामधुनीमा थप अप्ठ्यारो पर्ने देखिन्छ ।
एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका नेता–कार्यकर्ताका कारण रामधुनीमा एमालेको करिब १२ सय भोट कटौती हुने एमालेकै नेताहरुको आकलन छ ।