अन्ततः सरकारले स्थानीय निर्वाचनको मिति तोकेको छ । २०७९ बैशाख ३० गते देशै भरिका स्थानीय पालिकाको चुनाव हुनेछ । त्यसका लागि नगर पालिका प्रमुख र उप–प्रमुख, गाउँ पालिका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष र वडाका ४ जना सदस्यहरुका लागि राजनीतिक दलहरूले उम्मेदवार तोक्नेछन् । कतिपय राजनीतिक दल भन्दा स्वतन्त्र रहेका व्यक्ति व्यक्तित्वले पनि उम्मेदवार बनेर मतदातासंग आफ्नो पार्टीका उम्मेदवार वा आफुलाइ अनुमोदन गर्न अनुरोध गर्नेछन् ।
मतदाता अलमल्ल पर्न सक्ने देखिदैछ । कस्तो योग्यता भएको उम्मेदवारलाई भोट दिने होला ? आफु सबैभन्दा अब्बल भएको कुरा भनेर नथाक्ने बथानको कमि छैन यहाँ । राजनीतिक दलबाट उम्मेदवार छनोट गर्दा धनकी देवीको वरदान पाएका, नेतृत्वको चित्त बुझाउन सक्ने, सुविधा सम्पन्न वाहन भएका, नेतृत्वको आबश्यकतामा उडान चार्टर गर्न सक्ने र आफ्नो सुरक्षाका लागि आबश्यक जनशक्ति परिचालन गर्न सक्नेलाइ छान्न सक्ने देखिन्छ ।
रुझे–भिजेका, पार्टी निर्माणका लागि आफ्नो उर्वर समय लगानी गरेका, आबश्यक पर्ने दृष्टिकोण, योजना र परिपक्व सोच भएका, लगनशीलता पुर्बक जनताको सेवामा तल्लीन कार्यकर्ताले टिकट पाउने संभावना घट्दो देखिन्छ । यसले अबको स्थानीय सरकार कस्तो बन्ला भन्ने चिन्ता र अन्यौल थपेको छ । विगतमा देखे भोगेको अनुभव भए पनि नारामा अल्मलिने तथा भोजभतेरमा रमाउन पाए पछि क्षणिक आनन्दले मतदाता झुक्किने–झुक्याउने चलन नयाँ होइन् ।
यस कारण अब कस्ता लक्षण भएकालाई राजनीतिक दलले टिकट दिनु उपयुक्त हुन्छ र मतदाताले पनि कस्ता खालका उम्मेदवारलाई भोट हाल्नु उचित हुन्छ ? भन्ने आजको बहसमा मलाई लागेका केही यहाँ प्रस्तुत गरेको हुँ । विज्ञ जनहरुले यस आलेखलाइ पुर्ण बनाउने कार्यमा आफ्नो सुझाव दिनुुनै हुनेछ । प्रस्तावित उम्मेदवारका लागि केही योग्यता भनौं लक्षणहरु यहाँ उल्लेख गरेको छु ।
१. कार्यक्रम र योजनामा निजि स्वार्थ नगाँसिएको वा गाँस्न नचाहने ।
२. आफुलाइ चिनेको अथवा आफ्नो योग्यता, क्षमता, व्यक्तित्व, दृष्टिकोण, जिम्मेवारी वारे प्रष्ट भएको ।
३. आफु सशक्त रहेर चाहना र सामथ्र्य सहित स्वचालित रहेको अर्थात अरुले घिसार्नु नपर्ने ।
४. धैर्य, लगनशीलता र निरन्तरता भएको ।
५. निर्धारित लक्ष्य तथा लक्ष्य प्रति संकल्पित, दृढ र अर्जुन दृष्टि भएको ।
६. साहसिक निर्णय क्षमता भएको ।
७. दिवास्वप्न नभइ वास्तविक परिकल्पना तथा उक्त परिकल्पना प्राप्तिको योजना भएको ।
८. प्रभावकारी कार्य कुशलता भएको ।
९. समुदाय माझ इमानदारीपूर्वक र अध्यावधिक रुपमा नुन पानीमा घोलिएको जस्तै घुलनशिल ।
१०.नेतृत्व आदेश वा कुनै चावि होइन बरु सम्मिश्रण, साहस र उच्च विश्वास हो भन्ने बुझेको ।
११.अध्ययन,अनुसन्धान र निष्कर्ष सहितको आत्म विश्वास भएको ।
१२. उतार चढाव नभइ भावनात्मक स्थायित्व भएको ।
१३. मानवीय चरित्र र सम्बन्ध निर्माण विषयमा ज्ञान , चरित्र र प्रष्ट अवधारणा भएको ।
१४. धेरै सुन्ने, सुनेको कदर गर्ने र थोरै तर ठोस बोल्ने ।
१५. सामुदायिक र सामुहिक काम गर्ने आचरण भएको ।
१६. संचार तथा प्रभावकारी सुचना प्रवाह वारे जानकार ।
१७. समय अनुकूल अन्तर सम्बन्ध, प्रोत्साहन, दण्ड र पुरस्कृत गर्न जान्ने ।
१८. सिर्जनात्मक सीप भएको सिर्जनशील ।
१९. न्यायिक क्षमता भएको र प्रयोग गर्न सक्ने ।
२०. उत्तरदायित्व बुझेको र जिम्मेवार ।
२१. प्रविधि मैत्री, विधिको शासन मान्ने ।
२२.आत्मसमिक्षा गरि आत्म सम्मानयुक्त जीवन भएको ।
२३.अरुलाइ पनि संग संगै विकासित गर्ने चाहना भएको ।
२४. सामथ्र्य, शक्ति, समय र योग्यता सहित प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने ।
२५. गरेर सिक्नुपर्ने नभई गुणस्तरीय कार्य क्षमता भएको ।
२६. हँसिलो, मिजासिलो र रसिकता भएको ।
२७. अनुयायी भएको, वित्त र बजार बुझेर समुदायको जीवन निर्वाह पद्धति परिवर्तनको विधि बुुझेको ।
२८. आफुलाइ फर्केर आत्म परिक्षण गर्ने र कमि पत्तो लगाइ आफुलाइ सधैं अध्यावधिक गरि रहने ।
२९. प्रशासनिक नियन्त्रण र निर्देशन गर्ने क्षमता भएको ।
३०. अन्ध विश्वास नभएको र विज्ञान सम्मत दृष्टिकोण भएको ।
३१.सरल, सहज र अनुशासित जीवन शैली ।
३२. समयानुकूल रुपान्तरण तर्फ अग्रसरता भएको ।