धरानः परम्परागत रक्सी तिनपाने र धराने कालो बंगुरको मासु व्यवसायीक रुपमा उत्पादन गर्न उपमहानगरपालिकाले केन्द्रिय प्रविधि क्याम्पस संग सहकार्य गर्ने तयारी गरेको छ । क्याम्पसमा लाइमस्टक र अल्कोहल सम्बन्धि पढाई हुन्छ । प्रयोगात्मक कार्यका लागि प्रविधि पनि छ । दशक अघि क्याम्पसकै प्राविधिक सहयोगमा विजयपुरमा राँगाको सुकुटी उत्पादन गरिन्थ्यो । खाद्य प्रविधिका विद्यार्थीले फलफुलका वाइनको नमुना पनि उत्पादन गर्दै आएका थिए ।
उपमहानगरपालिकाले धरानमा घरेलु रक्सीको रुपमा बनाइने तिनपानेलाई वैधानिक रुपमा ‘ब्राण्डिङ’ गरेर व्यवसायीक उत्पादन गर्न नयाँ रोजगारी सिर्जनका लागि समुदायलाई उत्प्रेरित गर्न नयाँ अवधारणा अघि ल्याएको हो । यसै गरी धराने कालो वंगुरको मासुलाई पनि ‘ब्राण्डेड’ मासु उद्योग व्यवसाय प्रोत्साहित गर्दै रोजगारी सिर्जना गर्ने लक्ष्य उपमहानगरपालिकाले राखेको मेयर तिलक राईले बताएका छन् । यसबाट परम्परागत अग्र्यानिक उत्पादन प्रोत्साहित हुने र नयाँ रोजगारीको सिर्जना हुने उनले बताए ।
मेयर राईले सोमवार क्याम्पसका सम्बद्ध विज्ञहरु संग औपचारीक छलफल गरेका छन् । उपमहानगरपालिकामा आएको संघिय सरकारको कार्यक्रम नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका २०७८ अनुसार क्याम्पस र उपमहानगरपालिका विच सहकार्य गर्न लागिएको हो । छलफलबाट निर्देशिका बमोजिम दुई वटा छुट्टा छुट्टै अवधारणा पत्र तयार गर्ने सहमती भएको छ । नवप्रवर्तन कार्यक्रमका लागि कोषबाट उपमहानगरपालिका लाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ करोड ५० लाख उपलव्ध गराउने छ । उपमहानगरपालिकाले ७० लाख रुपया लगानी गर्नेछ ।
केन्द्रिय प्रविधि क्याम्पसले माघ २८ भित्र अवधारणा पत्र उपमहानगरपालिकालाई बुझाउने छ । सोही अनुसार क्याम्पस र उपमहानगरपालिका सहकार्य गर्दै रोजगार कार्यक्रम अघि बढ्ने बताइएको छ । तिनपाने र कालो बंगुरको मासुको परियोजना संगै धरान वडा ४ र २० लाई होमस्टेको गन्तव्य घोषित गरी पर्यटक आकर्षित गरिने मेयर राईले बताए ।
उनले भने ‘पछिल्लो समय मानिसहरुले कोदो खेति गर्न छाडिसकेका छन् ।’ तीनपाने र धराने कालो बंगुरको प्रवर्दनले कृषकहरुमा कोदो खेति गर्न प्रोत्साहित गर्ने उनको भनाई छ । परम्परागत रुपमा उत्पादन गरिरहेका स्थानीयबासीलाई तीनपाने रक्सीको बारेमा थप ज्ञान, सीप दिएर व्यवसायीकरण गर्न सकिएमा उनिहरुलाई आत्मनिर्भर स्वरोजगार बनाउन सकिनेछ ।
तलफलमा क्याम्पसका विज्ञहरुले कोदोको रक्सी उत्पादनका मापदण्ड र कानून निर्माणमा उपमहानगरपालिकाले भूमिका खेल्नुपर्ने सुझाव दिए । धराने कालो बंगुरको मासुलाई ग्रेडिङ गरेर देश, विदेशमा निर्यात गर्न सकिने बताए । तिनपाने र कालो वंगुरको ब्राण्डिङका लागि उपमहानगरपालिकाले गत वर्ष क्याम्पसका प्राध्यापक बसन्त कुमार राईको संयोजक्त्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा सदस्यहरु केन्द्रिय प्रविधि क्याम्पसका पूर्व प्रमुख प्रा.डा. धनबहादुर कार्की, फुलमाया तामाङ, सदर राई, मोहन तिगेला र उपमनपाका अधिकृत खगेन्द्र खतिवडा सदस्य सचिव रहेका छन् ।