बराहक्षेत्रः बराहक्षेत्र नगरपालिकाको सदरमुकाम चक्रघट्टी बजारको एक किलोमिटर भित्र (सप्तकोशीतर्फ) एउटा गाउँ छ, खनियाधार । वार्ड नम्बर ६ र ८ मा संयुक्त जोडिएर रहेको सो गाउँ ठाकुरबारीको सिमानामा पर्दछ । जहाँ झण्डै ६० परिवार बसोबास गर्दै आएका छन् । उनीहरू आफ्नै नम्बरी जग्गामा त्यहाँ बस्दै आएको २ दशक बढी बितिसकेको छ ।

कोशी किनारामै रहेको सो गाउँमा बिगत केहि वर्षदेखि बाढीको त्रास कम भएको थियो । स्थिति सामान्यरुपमा गुज्रिदै थियो । तर गतसालबाट भने स्थानीयहरु त्रासमा बाच्नुपर्ने अबस्था आइरहेको पाइयो । यसको कारण हो,अत्याधिक माटो उत्खनन ।
कयौं बिगाहा क्षेत्रफलमा रहेको खनियाटारमा आजभोलि रातभर माटो उत्खनन हुन थालेको छ । चक्रघट्टी बजारमा आउने ट्याक्टरहरुले आफूहरुलाई दादागिरी देखाएर माटो लाने गरेको स्थानीय बताउँछन् । स्थानीयकाअनुसार ट्याक्टरवालाहरुद्वारा माटो लान कसैले रोके उसलाई मार्नेसम्म धम्की दिने गरेका छन् । नाम नबताउने शर्तमा एक स्थानीयले भनेका छन्, माटो उठाउन थालेको एकवर्ष बितिसक्यो तर अहिलेसम्म रोकिएको छैन् । उनी थप्छन्, यसरी नै अझै केही समय लाने हो भने त पानी निकास हुने ठाउँ रहदैन् र हाम्रो घर सबै डुबेर जान्छ ।
आजसम्म हजारौ ट्याक्टर माटो उत्खनन भइसकेकोले गत कातिकमा आएको बाढीले समेत स्थानीयलाई बिचल्ली बनाएको थियो । यसअघि यस्तो अबस्था नआएको भएपनि माटो उत्खनन धेरै भएकाले पानीको निकास नभएर आफूहरु डुबानमा परेको स्थानीयको भनाइ छ । बर्षायामको लागि सो क्षेत्रलाई डेन्जर जोनको रूपमा हेरिन्छ । यता ट्याक्टरबाट माटो उत्खनन गरिरहेका एक व्यक्तिले भने आफ्नो नामको जग्गा भएको दाबी गर्दै माटो उठाइरहेका थिए । यद्यपि सो ठाउँमा अधिकांश जग्गाधनी भने कहाँ छन् भने अत्तोपत्तो नभएको स्थानीयको जिकिर छ ।
अव्यवस्थित माटो उत्खनन रोकिदिन आग्रह गर्दै स्थानीय श्रीबहादुर रायमाझीको अगुवाइमा बराहक्षेत्र नगरपालिकाको कार्यालय, ६ नम्बर वार्ड कार्यालाय र इलाका प्रहरी कार्यालयमा गत भदौ महिनामा ५० जनाको हुलले जानकारीसहितको ज्ञापनपत्र बुझाएका थिए । स्रोतका अनुसार तत्पश्चात केही ट्याक्टरलाई नियन्त्रणमा लिई कार्वाही समेत गरिएको थियो । सम्बन्धित निकायले यद्यपि प्रभावकारी र दीर्घकालीन रोकथामको उपाय नगरिदिदां आजको अबस्था सिर्जना भएको श्री बहादुर रायमाझी बताउँछन् । उनले भनेका छन्, यो क्रम यत्तिकै रहने हो भने ठूलो मात्रामा क्षति हुने निश्चितै छ ।
त्यस्तै, नम्बरी जग्गा भएपनी बाढीपीडित क्षेत्र भएकाले बैंक तथा बित्तीय संस्थाले लोन नदिने गरेको रायमाझीको गुनासो छ । पानीको निकास हुनका निम्ति शुक्रबारे र कोशी हुँदै चतरा जोड्ने बाटोमा एउटा पक्की पूल आवश्यक रहेको समेत उनले जनाएका थिए ।
यता, यसबारे इलाका प्रहरी कार्यालयसँग समन्बय गरि कार्वाहीको प्रक्रिया अघि बढाइने नगर उपप्रमुख कमला मगरले प्रतिबद्धता जनाएकी छन् ।
त्यस्तै, सम्बन्धित वडा अध्यक्ष उद्दब पोखरेलले भनेका छन्,-केही रैथानेले आफ्नो जग्गा खन्न नपाउनु भन्ने तर्कले यो समस्या खडा भाको हो । उनकाअनुसार उत्खनन गर्नेहरुलाई आफूले पहिचान गरिसकेकोले प्रहरीसँग समन्वय गरी कार्वाहीको प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।