हेर्न बाँकी नै छ संसार कति प्रगतिशल बन्छ , समाजवादको नाराले सार्थकता पाउँछ कि पाउँदैन तर समाजवादको लडाई लड्नेहरुको विश्वास भने अचम्मको छ या त भनौ उनिहरुको अठोटले नै भन्छ “लक्ष्य समृदिको यात्रा समाजवादको ” । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको केन्द्रिय सदस्य, तथा खेलकुद विभाग प्रमुख, अझै भनौ समाजवादी खेलकुद महासँंघको केन्द्रिय अध्यक्ष केशव कुमार विष्ट समाजवादी आन्दोलनमा अग्रणी भुमिका खेलिरहेका छन् ।
विद्याथी जिवनदेखि नै अखिलको राजनितिमा छिरेका विष्टको राजनितिक यात्रा, आरोह र अवरोह हिसाव गर्ने हो भने अथाह उकाली र ओरालीको विचमा रहेछ । २०३५ सालतिर इटहरीको जनता माविमा पढ्दै गर्दाबाट राजनितिक जिवन सुरु गरेका विष्ट आज सम्म पनि कम्युनिष्टको झण्डा बोकेर समाजवादको यात्रामा हिड्न छाडेका छैनन् ।
जनता स्कुलमा अखिलको कमिटि बनाउँदै प्रारम्भिक कमिटिको सदस्य बनेको विष्ट सानैदेखि गरिव प्रति सहानुभुति राख्नेगरेका राजनितिकर्मी हुन् । पन्चायतको विरुद्धमा र बहुदलको पक्षमा आन्दोलन गर्ने देखि लिएर २०६१ माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्रले गरेको कु विरुद्धमा समेत पशुपतिको धर्मशालामा बसेर आन्दोलनमा खटिएका विष्ट खेलकुद प्रेमी समेत हुन् ।
कुनै बेला पुर्वान्चल खेलकुद विकास संघ त कतिवेला राखेपको सदस्य सचिव समेत भइसकेका विष्टले देशको खेलकुदका क्षेत्रमा थुप्रै महत्वपुर्ण सुरुवात गरेका थिए । इटहरीमा निर्माण भएको रंगशालाको लागि लड्ने देखि लिएर खेलाडीहरुका आवाज बोल्ने राजनितिककर्मी विष्टसँग प्रदेश पोर्टलका लागि प्रकाश बन्जाराले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
तपाईको राजनितिक पृष्ठभूमि बताइदिनोस न ?
म २०३५ सालतिर इटहरीको जनता माविमा पढ्दै गर्दाबाट राजनितिक यात्रामा लागेको हुँ । राजनितिक यात्रा कम्युनिष्टको झण्डा बाटै सुरु भयो । जनता स्कुलमा अखिलको कमिटि बनाउँदै प्रारम्भिक कमिटिको सदस्य बनेको हुँ । हामी पन्चायतको विरुद्धमा र बहुदलको पक्षमा दिनभरी बाँसको पेनले नारा लेखेर राती त्यहि नारालाई इटहरी भरी टाँस्दै हिड्थ्यौँ त्यसैगर्दा प्रहरीले पक्रिएर लगेको र प्रहरीले हानेको बुट छल्नेक्रममा हातको बुढी औँला मर्किएको याद ताजै छ । प्रहरीसँगको त्यहि रेकर्डले गर्दा पछि नेपाल प्रहरीको निरिक्षकमा प्रतिस्पर्धा गर्दा नराम्रो रिजल्ट आएको थियो ।
योजना आयोगमा केहि समय जागिरे भएँ त्यतिवेला कर्मचारीभित्र संगठन विस्तार गर्ने काम भयो । पछि म जर्मनी गएर पनि त्यहाँ पार्टीकै संगठन बनाउने काम गरे । २०५० सालमा जर्मनीबाट फर्किएपछि पुन सक्रिय राजनितिमा लागेँ । २०५४ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्ला अध्यक्ष, २०५५ सालमा नेकपा एमालेको इटहरी नगरकमिटिको सदस्य, २०५९ मा सचिव उता युवा संघको संयोजक हुदै २०६१ सालमा युवा संघको केन्द्रिय सदस्यको रुपमा जिम्मेवारी पाए । खेलकुदको क्षेत्रमा पहिले देखिको लगाव भएको थियो । म भलिवलको जिल्ला स्तरिय खेलाडी पनि थिए । खेलाडी भएको नाताले खेलक्षेत्रसँग नजिक थिए, त्यहि भएर पुर्वान्चल खेलकुद विकास समितिमा रहेर पनि का मगर्ने मौका मिल्यो । पछि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव भएर विवाद रहित कार्यकाल विताए । त्यतिबेला इटहरीको खेलकुद क्षेत्रमा निकै प्रगति भएको छ ।
राजनितिक रुपमा क्षेत्रिय स्तरमा राम्रो भुमिका भएकाले नेकपा एमाले र माओवादी एकता भएर नेकपा बनेपछि स्वतह प्रदेश कमिटी सदस्य भएर सेवा गर्ने मौका मिल्यो । नेकपा भंग भएसँगै हामीले एमालेमा पार्टी विधि र पद्धतीले चल्नुपर्छ भन्ने आवाज निकाल्यौँ । हाम्रा आवाजहरु सुनिएनन् त्यति भएर अहिले नेकपा एकिकृत समाजवादी जन्मियो ।
एमालेमा तपाईहरुले विद्रोह गर्नुको खास कारण के हो ?
केपी शर्मा ओली राष्ट्रवादी होइनन् , न त प्रजातन्त्रबादी नै हुन् । महाकाली सन्धी देश र जनताको विरुद्ध छ भन्ने जान्दा जान्दै महाकाली सन्धी गरे । केहि समय भारतसँगको नाकाबन्दी ताका राष्ट्रबादी देखिन खोजे तर केपी ओली राष्ट्रवादी नेता होइनन् भन्ने कुरा पछिल्लो घटनाक्रमले नाटकिय रुपले पुष्टि गर्दै गयो । महाकाली सन्धी नै पार्टी फुटाउन ल्याएको रहेछ भन्ने पुष्टि विस्तारै हुदैँ गएको छ ।त्यतिमात्रै नभएर जनताको सर्वोच्चता रहेको प्रतिनिधि सभा लाई २ पटक सम्म घाँठी निमोठेपछि पार्टी र सत्ता दुवै हातमा लिएर मनोमानि गरिएपछि हामीले अन्तरपार्टी संघर्ष पनि गर्यौँ । एमाले आफैँमा नराम्रो पार्टी थिएन तर नेतृत्वमा बसेर पार्टीलाई एकलौटी बनाउँदै लग्नुका साथै कम्युनिष्ट मुल्य र मान्यतालाई नमानेपछि विद्रोह गर्नुपर्ने अवस्था आएको हो ।
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको खेलकुद विभाग प्रमुख पनि हुनुहुन्छ त्यतिमात्र नभएर खेलकुद महासंघको अध्यक्ष पनि । नेकपा एस प्रति खेलाडीहरुको धारणा कस्तो छ ?
नेकपा एसमा बहुसंख्यक खेलाडीहरुको आकर्षण छ । नेकपा एस निकट राष्ट्रिय खेलकुद महासंघ खेलाडीको हकहितका लागि लडेको खेलकुद महासंघ भएको र अधिकांश पदाधिकारीहरु खेलकुद मन्त्री समेत भएको हुदा लाखौँ खेलाडीहरु खेलकुद महाँसंघ समाजवादीमा आकर्षित हुनुहुन्छ । हामी खेलाडीहरुको आवाज बोल्छौँ । हरेक खेलाडीलाई सम्मान हुनुपर्छ । खेलाडीहरुले खेलेरै सम्मानजनक रुपमा बाँच्न सक्नुपर्छ । हामी खेलाडी र खेलकुदका पक्षमा लडिरहन्छौँ । विभिन्न विधाका खेल खेलिरहेका खेलाडीहरुलाई प्रशिक्षण तथा रोजगारीको ग्यारेन्टी गर्न, लामो समयदेखि एउटै तहमा रहेको खेलाडीहरुलाई बढुवा गर्न तथा प्रतियोगिताहरुको निरन्तर आयोजना गरेर खेलाडीलाई सम्मान गर्ने हाम्रो धारणा हो ।
राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव समेत भइसकेको व्यक्तित्व हुनुहुन्छ । तपाईको कार्यकालमा भएका उत्कृष्ट कामहरु के के थिए ?
राखेपमा मेरो विवाद रहित ४ बर्षे कार्यकाल रहयो । म पुर्वाञ्चल खेलकुद संघमा रहँदै इटहरीमा एउटा खेलमैदान हुनुपर्छ भनेर लड्न थालेको थिए । माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा मन्त्रिपरिषद्ले नै निर्णय गरेर रङ्गशालाको निम्ति साढे ८ बिघा जग्गा प्राप्त भयो र त्यसै जग्गामा म राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव हुँदा इटहरीमा मात्र विभिन्न खेलकुदको संरचनाको लागि ३७ करोडभन्दा बढी रकम निकासा गराएको छु । आकारमा ठूलो नभएपनि इटहरीमा बनाइएको रंगशाला र खेलका लागि प्रशिक्षणसमेत गर्न सकिने स्थल डिजाइनमा नेपालकै पहिलो र राम्रो छ । इटहरीमा निर्माण भएको रंगशाला ब्याडमिन्टनको लागि ५ वटा ग्राउण्ड भएको नेपालकै पहिलो रंगशालामा पर्छ भने तेक्वान्दोमा नेपालकै ठूलो र भलिबलको पनि देशकै ठूलोमा आउँछ । राष्ट्रकै लागि धेरै कामहरु भए । धेरै भन्दा धेरै खेलका प्रतियोगिताहरु हुनुपर्छ खेलाडीले खेल खेलेरै बाँच्ने अवस्था आउनु पर्छ भन्ने मेरो लडाई थियो ।
नेकपा एसको संगठन विस्तारको काम कसरी भइरहेको छ ?
अहिले हाम्रो संगठन विस्तारको काम तिव्र रुपमा भइरहेको छ । हामी हरेक हिसावमा नेकपा एमाले भन्दा उत्कृष्ट बनेर अघि बढिरहेका छौँ । हामी धेरै नारा लगाएर होइन् । जनताका जनजिविकाका कुराहरुसँग जोडिएर अगाडी बढिरहेका छौँ । काम मात्रै होइन् रिजल्ट सहितको काम गर्ने पार्टी नेकपा एस हो । जनताको व्यापक साथ पाउन हामी जनताका माझमा छौँ ।
नेकपा एसले पिछडिएका वर्गको प्रतिनिधित्व कसरी गर्छ ?
हामीले संविधान त पाएका छौँ तर त्यो पुर्ण छैन । संविधान जारी गर्नैपर्ने अवस्था आएका कारण जारी भएको सम्झौताको संविधान हामीसँग छ । केही राष्ट्रघाती कुराहरु हटाउनुपर्ने र जनजिविकासँग जोडिएका कुराहरुलाई समेट्नु पर्ने आवश्यकता पनि छ । नेकपा एस समाजवादको नारा बोकेर हिडेको सर्वहारा वर्गको पार्टी हो । यहाँ सबैको सम्मानजनक प्रतिनिधित्व हुन्छ ।
इटहरीबासी भएको नाताले इहटरीको विकास कसरी गर्न सकिन्छ त्यो बताइदिनोस् न ?
इटहरी ठुलो सम्भावना बोकेको शहर हो । इटहरी अवको २० बर्ष पछि देशको तेस्रो शहर बन्छ । राम्रो नेतृत्व र आम जनताले विश्वास र साथ दिए जनताको साधन र स्रोत परिचालन गरेर अवको ५ बर्षमा धरानलाई जित्न सक्छ । एक हिसावले मिश्रित जातीको बसोबास भएको शहर भएको हुनाले चाँडो विकास हुन सक्छ । इटहरीलाई राम्रो बनाउन नेतृत्वले समाजवादमा पुग्ने मोडल तयार गर्नुपर्छ । पैसा हुनेसँग कर लिनुपर्छ । सुकुम्बासिका समस्या, पिछडिएको वर्गका समस्या समाधान गर्दै जानुपर्छ अवको २० बर्षमा पक्का इटहरी देशकै प्रमुख तेस्रो शहर बन्छ ।