इटहरीः देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो महाधिवेशनमार्फत पुरानै नेतृत्व चुन्दै गर्दा पुनः नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको एजेन्डा ओझेलमा परेको छ । यसैबीच देशको अर्को वैकल्पिक शक्ति भनिएको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले भने नेतृत्व पुस्तान्तरण गरेर ठूला दललाई नैतिक झापड दियो ।नेपालमा छ सात दशकको इतिहास बोकेका दलहरुले आजको घडीसम्म आइपुग्दा पनि गर्न नसकेको नेतृत्व पुस्तान्तरण राप्रपामा कसरी संम्भव भयो भन्ने विषयमा प्रदेश पोर्टलकर्मी सुबिन विश्वकर्माले राप्रपा केन्द्रीय सदस्य गोपाल दाहालसँग कुरा गरेका छन्, प्रस्तुत छ सोही कुराकानीः

सर्वप्रथम त केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकोमा बधाई छ, आजको हाम्रो कुराकानी यहाँको राजनीतिक यात्राबाट सुरु गरौ न ?
मुलतः म राप्रपाबाट बिद्यार्थी राजनीतिमा होमिएको राजनीतिज्ञ हुँ । जहाँसम्म तपाईंले मेरो राजनीतिक यात्राबारे प्रश्न गर्नुभयो, २०४७ सालमा राप्रपाको साधारण सदस्यता लिएपछि औपचारिक राजनीति सुरु भयो भन्दा हुन्छ । ०४९ सालमै हाम्रो पार्टीको बिद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संघको केन्द्रीय संस्थापक उपाध्यक्ष भएको थिए । जतिबेला राजेन्द्र लिङ्देन अध्यक्ष थिए । लग्गतै ०५१ तिर सुर्खेतको राष्ट्रिय भेलामार्फत बिद्यार्थी संगठनकै महासचिव बन्न सफल भए ।
हुँदै जाँदा हाम्रो पार्टीको युवक संगठनको गठन भयो । र, ०६५ सालमा मलाई त्यसको प्रबक्ता बनाइयो । बिचमा पार्टी फुट्ने, एकीकरण हुने प्रक्रिया भइरहेकै थियो तर म र राजेन्द्र लिङ्देन कमल थापासँगै रह्यौं । सँगै २०६३ सालदेखी पार्टीको केन्द्रिय सदस्यमा मनोनित भए । यता संसदीय फाँटको कुरा गर्नुहुन्छ भने ०६४ मा मोरङ एक नम्बर क्षेत्रबाट संविधानसभा सदस्यमा उठे पनि । तर कांग्रेसका गिरिजाप्रसाद कोइरालासँग म पराजित हुन पुगे ।
यसैबीचमा राष्ट्रिय किसान प्रजातान्त्रिक संघको अध्यक्ष पनि भैसकेको छु । फेरि ०७३ सालमा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए । र, अहिले पुनः गत एकता महाधिवेशनबाट
राजेन्द्र लिंङ्देन प्यानलबाट केन्द्रिय सदस्य निर्वाचित भएको छु ।

राप्रपामा पुस्तान्तरण कसरी संम्भव भयो ?
हामी त कांग्रेस, एमाले, माओवादी सबैमा नयाँ पुस्ताको हातमा नेतृत्व आओस भन्ने चाहान्छौ । हाम्रो कुरा गर्नुपर्दा, पार्टीभित्र नेतृत्व पुस्तान्तरण गर्नुपर्छ भन्ने प्रश्न उठेको त वर्षौं भइसकेको थियो । हामीले थुप्रै बैठकहरुमा तत्कालीन अध्यक्ष कमल थापालाई सर्वसम्मत नेतृत्व पुस्तान्तरण गरौं भनेका पनि हौं ।अझ मेरो कुरा गर्नुहुन्छ भने त पार्टीभित्र दोस्रो पुस्ता आउनुपर्छ भन्ने नै म हो । खासगरी २०७८ को भदौबाट नयाँ पुस्ता ल्याउने अभियान प्रारम्भ भयो । हाम्रो चाहाना निर्वाचन अध्यक्ष कमल थापा प्रतिस्पर्धामा नजानुपथ्र्यो । यससन्दर्भमा भाजपाको मोडलमा पार्टीलाई लैजाने सोचमा थियौ तर भएन । पुरानो नेतृत्वले देशलाई बैज्ञानिक र आधुनिकीकरणमा लान सक्दैनथ्यो, त्यसको लागि पुस्ता परिवर्तन आवश्यक थियो । त्यसको लागि देशभरको ४० जिल्लाका बिद्यार्थी साथीहरुले लिङ्देनलाई सहयोग र आट दिनुभयो । यसो भन्दैगर्दा पुरानो पुस्ताले चाहिँ सहयोग गरेन भन्ने हैन् । देशैभरका अघिल्लो पुस्ता र पछिल्लो पुस्ता दुबैको सहयोगले हामी नेतृत्व परिवर्तनमा सफल भयौं ।

268758160_614158463036163_2818027834145234242_n

उसोभा बाह्य शक्ति (निर्मल निवास)को कृपाले पुस्तान्तरण भएको हैन ?
मलाई त्यस्तो लाग्दैन । निर्मल निवास निकट कसैकसैको एकाध महाधिवेशन प्रतिनिधिसँग चिनजान भएकाले ुयसो गरिदिए हुन्थ्योु भनेर इच्छा राख्नु अलग कुरा होला । तर जसरी बाहिर आएको छ , निर्मल निवास निकट सचिवहरुले महाधिवेशन नै हस्तक्षेप गरेको, पैसा र पावरको दुरुपयोगले राजेन्द्र लिङ्देन जिताएको भन्ने चाहिँ गलत प्रचार मात्र हो ।

अब फेरि राप्रपा फुट्ने संभावना देखिन्छ नि ?
तपाईंमार्फत म देशभरका कार्यकर्ता र शुभचिन्तकपाई भन्न चाहान्छु कि अब पार्टी फुट्दैन । किनकी हामी देशभरका साथीहरूसँग निरन्तर संवादमा छौ । पार्टीका कुनै पनि कार्यकर्ता पार्टी फुटाउने पक्षमा छैनन् । कमल थापाले हाम्रो अभिभावक भएर बस्नुपर्छ अब पार्टीबाट भाग्न पाउनुहुन्न ।

कमल थापा पुस्तालाई कसरी मिलाएर लानुहुन्छ ?
यसबारे पार्टीभित्र गहिरिएर छलफल भइसकेको त छैन् । यद्यपि हामी अग्रजलाई उचित स्थान दिएर सँगै अगाडि बढ्छौ । त्यो भनेको के हो भन्नुहोला, नयाँ पुस्ताले पार्टी चलाउछ । पुराना पुस्ता भनिएकाहरुको अनुभवले देश चलाउनुहुन्छ । जसअनुरुप कमल थापा, पशुपतिशमशेर राणा, डा। प्रकाशचन्द्र लोहनीमध्ये एकलाई संसदीय दलको नेता बनाएर अघि बढ्ने हाम्रो चाह छ । जनताले विश्वास गरेको खण्डमा उहाँहरुमध्ये एकले देशको नेतृत्व गर्नुहुन्छ ।

अन्त्यमा, नयाँ नेतृत्वले राप्रपाको एजेन्डा कसरी स्थापित गर्छ ?
हामी गाउँ बस्तीमा जनपरिचालन गर्छौ । संगठन मजबुत बनाउँछौ । जनतालाई हाम्रो एजेन्डाबारे बुझाउछौ । हेर्नुस् हामी त संसदीय प्रक्रियाबाट हाम्रो एजेन्डा पूरा नभए यस व्यवस्था नै फालेर पनि अघि बढ्ने सोचमा छौ । संबैधानिक राजसंस्था, संघीयता खारेज, हिन्दुराष्ट्र स्थापनाका लागि हामी संसदीय व्यवस्था परिवर्तन नै गर्न पछि हट्दैन । र, तपाईंलाई यो पनि भनिदिउ कि हामी हाम्रो बिचार र सिद्धान्तप्रती कटिबद्ध छौ । चाडै नै हाम्रो एजेन्डा साकार हुनेछ ।