इटहरीः भारतीय चर्चित रियालिटि शो सारेगम लिटिलको कम्पिटिसनका लागि भारत जान लागेका इटहरीका प्रीतम आचार्यलाई सम्मान गरिएको छ । प्रतियोगिताका लागि छनोट भएका आचार्यलाई एक कार्यक्रममाझ इटहरीमा सम्मान गरिएको हो ।
बालबालिकाहरूको मात्र प्रस्तुति रहने लिटल सारेगमका लागि छनोट भएका हुनाले प्रीतम भारततर्फ जान लागेका हुन् । ‘शास्त्रीय र आधुनिक दुवै कसिमका सङ्गीतहरूमा कलात्मक तरिकाबाट आवाज दिने शक्ति प्रीतममा छ’, प्रीतमका सङ्गीतगुरु भुपेन्द्र राईले भने, ‘शोमा छनोट भएकाले उनी अहिले अभ्यासमा व्यस्त छन् । उनको मानसिक तयारीलाई झन् दरो बनाउन सम्मान आयोजना गर्नु परेको हो ।’
इटहरी–५ स्थायी घर भएका प्रीतम ११ वर्षका छन् । सङ्गीत र पढाइलाई सँगसँगै लग्न अप्ठ्यारो भए पनि राम्रो अङ्क ल्याएर विश्व आदर्श स्कुलको कक्षा ६ मा उनी अध्ययनरत रहेको राईले बताए ।
‘कसैले छोरालाई पाइलट इन्जिनियर डाक्टर बनाउँछु भन्छन् तर मेरो छोरा गायक नै बनोस् । मेरो इच्छा पनि यही हो’, प्रीतमका बुबा काशीनाथ आचार्यले भने, ‘आज झापाकी मेनुका पौडेल टप १० मा पुगिसकिन् । इटहरीको एउटा सामान्य केटो पनि बलबुताले विजेता हुन सक्छ । त्यसैले सबैको आशीर्वाद आवश्यक छ ।’
बाल गायक आचार्य सुरशाला आइडलमा समेत फस्ट रनर अप भएका थिए । कान्तिपुर टेलिभिजनमा प्रशारण भएको उक्त कार्यक्रममा आचार्यले २ लाख ५० हजार रुपैयाँ बराबरको सुरशाला छात्रवृत्ति पाएका थिए ।