इटहरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईबीच आज कार्र्य सम्पादन सम्झौता भएको छ ।

मुख्यमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रमकावीच उनीहरुबीच कार्यसम्पादन सम्झौता भएको हो । प्रदेश १ सरकारको काम कारवाहीलाई पारदर्शी, नतिजामुलक एवं उपलब्धिमा आधारित बनाउन ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा, प्रदेश सरकारको प्रथम आवधिक योजना उल्लिखत ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणको दीर्घकालिन सोच प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ को नियम ६ बमोजिम कार्य जिम्मेवारी पूरा गर्न, विभागीय मन्त्रीका रुपमा कामको फछ्र्यौट गर्न र प्रदेश सुशासन ऐन र नियमावलीको व्यवस्थालाई आत्मासात गर्दै मुख्यमन्त्री राई र सामाजिक विकास मन्त्री राईबीच कार्र्य सम्पादन सम्झौता भएको हो ।

सम्झौता अनुसार सामाजिक विकास मन्त्री राईले नेपालको संविधान अनुसूची ६, ७ र ९ र प्रदेश सरकार नियमावली २०७४ को नियम ५ सँग सम्वन्धित विषय संख्या ५ बमोजिम कार्ययोजना बनाई कार्यसम्पादन गर्ने व्यवस्था मिलाउने उल्लेख छ । कार्यसम्पादन सम्झौता अनुसार मुख्यमन्त्री राईबाट नियमित अनुगमन तथा मन्त्रालयस्तरीय समस्या समाधान समितिमा समीक्षा हुने उल्लेख गरिएको छ ।