धरानः सुनसरीको धरान १५ गणतान्त्रिक चौक (सेउती खोला छेउ) स्थित अव्यवस्थित बसोबास गर्ने घरहरुलाई जग्गाधनी पहिचान गरी प्रतिधुर ३० हजार रुपैयाँका दरले सहुलियतमा जग्गा दिन थालिएको छ ।

अव्यवस्थित बसोबास गर्ने करिब ३०० घरलाई घरधनी पहिचान गरी आजैदेखि सहुलियत दरमा धनीपुर्जा वितरण गर्न थालिएको हो । अव्यवस्थित बसोबास तथा भूमिहिन सुकुम्बासी आयोग धरानको पहलमा निकै लामो संघर्षपछि यहाँसम्म आइपुगेको साथै सम्पूर्ण जग्गाधनीहरुलाई धन्यवाद दिँदै अझ आउने दिनमा सहकार्य गर्ने आयोगका अध्यक्ष हरि कार्कीले बताए । सम्पुर्ण जग्गाधनीहरुलाई बोलाएर सम्मानसहित ३० हजार रुपैयाँ प्रतिधुरका दरले जग्गा वितरण गर्न सर्वप्रथम सहकार्य गर्ने भरत सुवेदीलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी, धनीपुर्जा वितरण कार्यक्रममा सर्वप्रथम जग्गा दिन तयार राजकुमार कार्की र नवीन श्रेष्ठलगायत सबैलार्ई सम्मान गरिएको थियो ।

यसअघि धरान ११ मा पनि सहुलियतमा जग्गा वितरण गरिँदै आएकोमा अहिले निकै महङ्गोमा अव्यवस्थित बसोबास गर्नेहरूलाई जग्गा दिँदै आइरहेको छ । कति अव्यवस्थित घरपरिवारलाई भने अझै जग्गा आफ्नो नाममा ल्याउन समस्या भएको धरान ११ का अव्यवस्थित बसोबास गर्ने स्थानीयहरु बताउँछन् । औपचारिक कार्यक्रममार्फत सहुलियतमा धनीपुर्जा दिने धरानमा पहिलो कार्यक्रम भएको र हालसम्म धेरै आयोग गठन भएपनि यो कार्यक्रमचाहिँ प्रभावकारी देखिएको कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका १५ न. वडा कार्यालयका अध्यक्ष नरेश इवारमले बताए ।