इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी निषेधाज्ञा १० दिनका लागि यथावत राख्ने निर्णय गरेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले साउन २० गतेदेखि २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको केन्द्रका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यराति समाप्त हुन गइरहेको तर जिल्लामा कोरोना भाइरसको संक्रमणको विस्तार नियन्त्रणमा आउन नसकेकाले निषेधाज्ञा थप गरिएको हो । मन्त्रिपरिषद्को निर्णय, कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) द्वारा प्रदत्त अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक अन्य अवस्थामा हिँडडुल नगर्न तथा दुई मिटरको भौतिक दूरी कायम गर्न भनिएको छ । स्वास्थ्य मापदण्ड पालना गरी राजमार्ग क्षेत्रका होटल रेस्टुरेन्टहरु बिहान ०८ः०० बजेदेखि राति ८ः०० बजेसम्म सञ्चालन गर्न पाइनेछ । तरकारी फलफूल, औषधि, इन्धन, डिपार्टमेन्ट स्टोरका ग्रोसरी भने दिनभर नै सञ्चालन गर्न पाइनेछ । तर, धरान उपमहानगरपालिका क्षेत्रमा भने संक्रमणको दर बढी भएकाले तरकारी तथा फलफूल पसलहरु बिहान ९ः०० बजेसम्म र अन्य पसलहरु बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने प्रशासनले प्रष्ट पारेको छ ।

cdo1 cdo2