इटहरीः साताको तेस्रो दिनको कारोबारबाट नेपालको शेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
मङ्गलबारबो कारोबारमा नेप्से परिसूचक अघिल्लो दिनभन्दा २६ अङ्कले बढेर तीन हजार एक १ सय ११ दशमलव ०९ कायम भएको हो । यस दिन शेयर बजारमा ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार सात सय ६४ बराबरका २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर खरिद बिक्री भए । मङ्गलबारको कारोबारमा पनि फाइनान्स कम्पनी र जलविद्युत कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने यो समुहका लगानीकर्ता राम्रो कमाउनेमा दरिए । अघिल्लो दिन १३ मध्ये ८ समुहको बजार सूचकाङ्क घटेको थियो भने मङ्गलबार ११ वटा समुहको शेयर सूचक हरियाली देखिएको छ ।
मङ्गलबारको कारोबारबाट पाँचथर पावर कम्पनी र रुरु जलविद्युत कम्पनीको शेयर मूल्य १० प्रतिशतभन्दा बढीमा कारोबार भयो भने जीवन विकास लघुवित्त, युनियल लाइफ इन्स्योरेन्स,घलेम्दी हाइड्रो, लिवर्टी इनर्जीको शेयर मुल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ । नेपाल स्टक एक्चेन्जको पुरानो वेबसाइटमा प्राविधिक समस्या आएका कारण दिनभरि लगानीकर्ता प्रभावित भएको भएता पनि नेप्सेले नयाँ वेबसाइटमार्फत् कारोबार गराइरहेको थियो । नयाँ वेबसाइट पूर्ण रुपमा सुचारु नभइसकेका कारण लगानीकर्ताले दिनभर विवरण हेर्न भने पाएनन् ।