इटहरीः जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) सुनसरीको निर्णय बमोजिम इटहरीका व्यवसायीका लागि आएको खोप वितरणमा इटहरीका मेयर द्वारिकलाल चौधरीले अवरोध गरेका छन् ।

डिसीसीएमसीको बैठकबाट उद्योग वाणिज्य संघ इटहरीलाई एक हजार डोज दिने निर्णय भएको संघका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले जानकारी दिए । तर, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले आठ सय डोज खोप मात्र उपलब्ध गराएको उनको भनाइ छ । यस्तै, होटल व्यवसायीका लागि पनि छुट्टै ४ सय डोज खोप आएको उनले जानकारी दिए । तर, मेयर चौधरीले गाउँमा खोप अभाव छ भीआईपीलाई यति धेरै किन चाहियो भन्दै खोप कटौती गरिदिएको वरिष्ठ उपाध्यक्ष पोखरेलले उल्लेख गरे । मेयर चौधरीले आएका मध्ये आधा खोप मात्र व्यवासायीलाई दिने भनेपछि व्यवासायी रुष्ट भएका छन् । मेयर चौधरीले उद्योग वाणिज्य संघलाई ४ सय डोज र होटल व्यवसायीलाई २ सय डोज खोप मात्र दिने भनेका छन् ।

यसरी आधा मात्रै खोप उपलब्ध गराउने भनेपछि उद्योग वाणिज्य संघका प्रतिनिधिहरु मंगलबार दिउँसो मेयरको कार्यकक्षमा नै पुगेका थिए । तर, मेयर भने आफ्नो निणर्यमा अडिग रहेको व्यवसायीले बताएका छन् । अपराहन्न ४ः०० बजे जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुसँग छलफल गरेर खोपबारे आधिकारीक निणर्य गर्ने मेयर चौधरीले भने पनि अहिलेसम्म आफूहरुलाई जानकारी नआएको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।