इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिनदेखि भइरहेको आन्दोलन मत्थर पार्न सरकारले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

आन्दोलनरत संयुक्त संघर्ष समितिले वार्ता समिति गठन नगरे बुधबारदेखि इमर्जेन्सी, कोभिड र पूर्वनिर्धारित परीक्षबाहेक सबै सेवा बहिष्कार गर्ने अल्टिमेटम दिएपछि सरकारले वार्ता समिति गठन गरेको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । समितिका सदस्यहरुमा मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेत र प्रशासनका अधिकृत देवराज भण्डारी रहेका छन् ।]

BPKIHS 1 5

प्रतिष्ठानमा बेथिति र आर्थिक अनियमितता बढेको भन्दै चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सहरुले गत असार १ गतेदेखि निरन्तर आन्दोलन गरिरहेका छन् । वार्त समितिका बारेमा आफूहरुले जानकारी प्राप्त गरेको संयुक्त सर्घष समितिका सह–संयोजक तथा डा.विष्णु पोख्रलले जानकारी दिएका छन् । टोली आजै धरान आइपुग्ने उनले बताए । यसअघि सरकारले प्रतिष्ठानको आन्दोलनबारे छानबिन कार्यदल बनाएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति एवं अनियमितताबारे छानबिन गर्न गठित कार्यदलको म्याद सोमबार सकिएको छ । कार्यदलले आज प्रतिवेदन प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको छ ।