इटहरीः सप्तरीको खडक नगरपालिका–४, अमहामा हिजो साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा ४०३८ नम्बरको मोटरसाइकलका चालक सप्तरीकै शम्भुनाथ नगरपालिका–७ का २८ वर्षीय बुद्धसागर चौधरी र ९५५६ नम्बरको मोटरसाइकलका चालक सिरहाको लहान नगरपालिका–१७ का २८ वर्षीय रामशंकर यादव रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनामा परेका चौधरीको घटनास्थलमै ज्यान गएको थियो भने यादवलाई उपचारार्थ सप्तऋषि अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
दुवै मोटरसाइकलको पछाडि बस्ने दुई जना घाइते भएकोमा उनीहरुको सामान्य अवस्थामा सोही अस्पतालमा उपचार जारी रहेको डीएसपी तिम्सिनाको भनाइ छ । बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जनाउँदै प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।