इटहरीः मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालमा पिलोको शल्यकृयालगत्तै एक ज्येष्ठ नागरिक पुरुषको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालका कर्मचारी तथा सुरक्षा गार्डलाई कुटपिट तथा अस्पतालमा तोडफोड गरेका छन् ।
मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मलद्वारमा रहेको पिलोको शल्यकृया गरिएकोमा उनको मृत्यु भएपछि आफन्तले अस्पतालमा हुलदङ्गा गरेका हुन् । हिजो बिहान अस्पताल भर्ना भएका हुसेनको साँझ ७ः०० बजे शल्यकृया सम्पन्न भएकोमा शल्यकृयापछि उनको अवस्था जटिल भई भेन्टिलेटरमा राखिएको थियो । डा. सरोज राजवंशी सहितको टोलीले शल्यकृया गरेकोमा हुसेनको राति करिब १०ः०० बजे ज्यान गएको अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले जानकार िदिए । बिरामीमा मधुमेह र न्यून रक्तचापको पुरानै समस्या पनि रहेकोमा मलद्धारको घाउका कारण बढ्दो सङ्क्रमणसँगै शरीरका भित्री अङ्ग निस्कृय हुँदा ‘मल्टिपल अग्र्यान फेलर’ भएर बिरामीको मृत्यु भएको चिकित्सकलाई उदृत गर्दै मेहताले बताए । आक्रोशित भीडले अस्पतालका सिसा तोडफोड गर्नुका साथै कर्मचारीलाई कुटपिट गरेपछि कुटपिट गर्ने सात जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार २५ ३० जनाको समूहमा आई तोडफोड गर्नेहरुमध्ये धनपालथान–६ का ३४ वर्षीय मोहमद आजाद, ३३ वर्षीय मोहमद अख्तर, ३० वर्षीय मोहमद साजद, २३ वर्षीय मोहमद जुवेर, ३८ वर्षीय नारायण सहनी, ३६ वर्षीय मोहमद इरसाद र २० वर्षीय मोहमद सुवेरलाई पक्राउ गरिएको छ । यता, मृतकका परिवारले दोषी चिकित्सकमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै हालसम्म शव नबुझेको अस्पतालले जनाएको छ ।