धरानः धरानको खोप केन्द्रअन्तर्गत रहेका सबै वडामा आलोपालो गरेर कोरोना विरुद्धको खोप लगाइने निर्णय भएको छ ।
आइतबार मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । धरानमा सात स्थानमा खोप केन्द्र तोकिएको छ । सात वटा खोप केन्द्रलाई नै लक्षित गरेर त्यहाँ परिचालन गरिएका स्वास्थ्यकर्मीबाट दिन बिराएर वडागत रुपमा खोप लगाउन व्यवस्था गरिने निर्णय भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार कार्यपालिकाको बैठकमा कोभिड १९ खोपसँग सम्बन्धित विषयहरु निर्णय गरेको, जसअन्तर्गत विगतमा सञ्चालन भएका खोप कार्यक्रमको समीक्षा गर्दै आगामी दिनमा खोप कार्यक्रमलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा समीक्षा भएको थियो ।
‘खोप केन्द्रचाँहि वडा वडामा हुँदैन, विगतमा सञ्चालन गरिएकै सात स्थानमा खोप केन्द्र हुन्छ, आगामी दिनमा खोप केन्द्रअन्तर्गत रहेका वडा वडामा आलोपालो गरेर खोप लगाइन्छ,’ उनले भने । यस्तै, कार्यपालिका बैठकमा विद्यालय सञ्चालन तथा शुल्क निर्धारण सम्बन्धमा पनि छलफल भएको थियो । बैठकले गत वर्ष भएकै निर्णयलाई पारित गरेको छ । शिक्षा तथा खेलकुद महाशाखा प्रमुख रत्न कट्वालका अनुसार विद्यालयहरुले वार्षिक शुल्कको हकमा ५० प्रतिशत मात्र शुल्क लिन पाउने छन् भने अनलाइन कक्षाको हकमा मासिक शुल्क ५० प्रतिशत मात्र लिन पाउने छन् ।