इटहरीः कोरोना विरुद्धको खोप लगाएका नागरिकलाई खोप लगाएको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले मातहतका अस्पतालहरुलाई निर्देशन दिएको छ ।

यसअघि काठमाडौँका चार ओटा अस्पतालहरुबाट मात्र ‘भ्याक्सिन सर्टिफिकेट’ उपलब्ध गराउँदै आएको मन्त्रालयले अब भने देशभरका ५० शैयाभन्दा बढी क्षमताका सबै अस्पतालबाट ‘भ्याक्सिन सर्टिफिकेट’ जारी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । खोप प्रमाणपत्र जारी गर्नका लागि बढीमा दुई जना मेडिकल अधिकृतलाई फोकल पर्सनको जिम्मेवारी दिएर सम्बन्धित अस्पतालले नै राख्न सक्नेछन् । यसैगरी, आगामी भदौ १ गतेदेखि खोप वितरण गर्दा विदेश जाने नागरिकको अभिलेख दर्ता गरेर मात्र वितरण गर्ने व्यवस्था गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

यसअघि नै खोप लगाइसकेका नागरिकको पनि अभिलेख संकलन गरी क्युआर कोडसहितको खोप प्रमाणपत्र विद्युतीय माध्यमबाट प्रदान गर्न विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले निर्देशन दिएका हुन् ।

mohp notice.