इटहरीः मोरङको धनपालथान गाउँपालिका ४ स्थित धानखेतमा एक महिलाको शव फेला परेको छ ।

मृत फेला पर्नेमा सोही स्थानकी ३५ वर्षीया जानकीदेवी मुखिया रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक दीपक श्रेष्ठका अनुसार आफ्नै घरदेखि ५० मिटर पूर्वमा रहेको धानखेतमा गएराति १०ः०० बजे फेला परेको हो । नाकमा रगत तथा आँखामा चोटसहित मृत फेला परेकी जानकीदेवीलाई परिवारजनले प्रहरीलाई खबर नगरी घरमा ल्याइसकेर मात्र प्रहरीलाई जानकारी दिएका थिए ।

हाँस हराएको विवादबारे परिवारजनले गराएको जानकारीका आधारमा प्रहरीले विवाद गर्ने तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रमुख प्रहरी निरीक्षक अनमोल खड्काको नेतृत्वमा रहेको टोलीले ३६ वर्षीया अनरवति मुखिया, ५५ वर्षीय भुटाई मुखिया र उनकी श्रीमति सति मुखियालाई नियन्त्रणमा लिएको डीएसपी श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।