इटहरीः ४८ दिनदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धीकरणको माग राख्दै आन्दोलनमा उत्रिएको संयुक्त संघर्ष समितिले प्रतिष्ठानको शैक्षिक डिन कार्यालयमा तालाबन्दी गरेको छ ।

आन्दोलन सुरु भएको डेढ महिनाभन्दा लामो समय बितिसक्दा पनि आफ्ना माग पूरा गर्न सरकार र प्रतिष्ठान उदासिन भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाइएको संयुक्त संघर्ष समितिका संयोजक डा. सूर्यप्रसाद रिमालले बताए । साथै संयुक्त समितिले आफ्ना माग पूरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । ‘यो स्वास्थ्यकर्मी सहभागी भएको आन्दोलनलाई प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले गम्भीरतापूर्वक लिएको देखिएन’, आन्दोलनका संयोजक डा. रिमालले भने, ‘अब हामीले ७२ घण्टे अल्टिमेटम दिएका छौँ । बुधबारसम्म पनि उहाँहरुले हाम्रो मागलाई सम्बोधन गर्नुभएन भने हामी कोभिड, एमरजेन्सी र पूर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा ठप्प पार्छौँ ।’

talcha (1)

 

आन्दोलनरत पक्षले ४८ औँ दिनको आन्दोलन कोभिड १९ बाट मृत्यु हुनेहरुमा ३० सेकेण्ड मौनधारण गर्दै सुरु गरेको थियो । त्यसपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै यहाँ कार्यरत चिकित्सक र विद्यार्थीहरुले थप शसक्त आन्दोलन गर्ने बताएका हुन् ।