इटहरीः होटल व्यवसायी संघ इटहरीले सञ्चालन गर्न लागेको कोरोना विरुद्धको खोप अभियान स्थगित गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले उपलब्ध गराउन लागेको एक हजार डोज भेरोसेल खोप तत्काल उपलब्ध गराउन नसकेपछि आज र भोलिका लागि तय भएको खोप कार्यक्रम स्थगित भएको संघका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए । उनका अनुसार एक हजार डोज माग भएकोमा प्रशासनले चार सय डोज मात्र उपलब्ध गराउन सकिने बताएपछि संघले सम्भावित विवादबाट बच्न खोप कार्यक्रम स्थगित गरेको हो । होटल व्यवसायी संघमा चार सय होटल व्यवसायी आबद्ध रहेकोमा तीनका कामदारहरुलाई समेत लगाउने भनिएको खोप चार सय डोज मात्र पठाउनु पर्याप्त नभएको उनको भनाइ थियो । उनका अनुसार संघले संकलन गरेको खोप लिने होटल व्यवसायीको लगतमा हालसम्म पाँच सय ७० जना व्यवसायी तथा कामदार सूचीकृत भइसकेका छन् । जिल्ला प्रशासन कार्यालयले होटल व्यवसायी संघलाई एक हजार र उद्योग वाणिज्य संघलाई एक हजार खोप दिने प्रतिबद्धता गरिसकेर पछि हटेको हो ।
समयमा खोप उपलब्ध नभएपछि खोप माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए । उनका अनुसार खोप वितरणका लागि इटहरी उपमहानगरपालिकाले ठाउँको व्यवस्थापनसमेत गर्न नसकेपछि अभियान स्थगित भएको हो । खोप व्यवस्थापनको तालुकवाला निकाय इटहरी अस्पतालले पनि समयमा माग अनुसार खोप उपलब्ध नहुँदा खोप अभियान स्थगित गर्नु परेको स्वीकार गरेको छ । अस्पतालका प्रशासन प्रमुख रामकुमार धमलाका अनुसार विभिन्न सँस्थाका नाममा जिल्ला प्रशासनले चार हजार डोज खोप स्वीकृत गरेको थियो । सोमध्ये तीन हजार पाँच सय डोज खोप अस्पतालको खोप भण्डारण गृहमा सुरक्षित रहेको र बाँकी पाँच सय डोज पनि आउने प्रकृयामा रहेको उनले जानकारी दिए । तर, चार हजार डोज खोप मात्र पर्याप्त नहुने हुँदा कम्तिमा आठ हजार डोजको बन्दोबस्त गरेर मात्र अभियान सुरु गरिने उनले उल्लेख गरे ।
सर्वसाधारणको माग अनुसार वडावडामा खोप केन्द्र स्थापना गर्न प्राविधिक रुपले सम्भव नहुने बताउँदै उनले इटहरी उपमहानगरपालिका क्षेत्रमा सातदेखि १० ओटासम्म मात्र खोप केन्द्र सञ्चालन गरिने प्रष्ट पारे । अस्पतालसँग धेरै खोप भण्डारण गर्न सक्ने क्षमता र खोप वितरणको जनशक्ति दुवै नरहेको धमलाको भनाइ छ । इटहरी क्षेत्रमा हालसम्म चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा १३ हजार तीन सय ६५ र दोस्रो मात्रा दुई हजार तीन सय साठी जनालाई दिइएको छ । यसैगरी, कोभिसिल्डको पहिलो मात्रा नौ हजार ६ सय ४६ जनाले पाएका छन् भने दोस्रो मात्रा एक हजार दुर्ई सय ५९ जनासम्म मात्र पुगेको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको नगर परिषद्को बैठकले थप खोप माग गर्ने निर्णय गरेको हो ।