इटहरीः सुनसरीको धरान उपमहानगरपालिका १६ नम्बर वडा कार्यालयमा ताला तोडेर हिजो राति चोरी भएको छ ।
सीसीटीभी फुटेज हेर्दा राति अनुहार पहिचान नहुनेगरी एक जनाले ताला तोडेर २ थान कम्प्युटर सेट, प्रिन्टर र स्वास्थ शाखाबाट औषधिहरु चोरी गरेको देखिएको १६ नम्बर वडाका वडा सदस्य दीपक आचार्यले बताए । स्थानीयले गेट खुल्ला देखेपछि जनप्रतिनिधिलाई जानकारी गराउँदा चोरी भएको थाहा भएको हो । सीसीटीभीमा शुक्रबार राति ११ः०० बजे एक जना ब्यक्तिले ताला तोडी सचिव र स्वास्थ शाखाको कोठाबाट २ थान कम्प्युटर सेट (सीपीयूसहित ) चोरी गरेको देखिएको सदस्य आचार्यले बताए ।
चोरले राति ११ः०० बजेदेखि पालैपालो गर्दै बिहान ०३ः०० बजेसम्म सामानहरु बोरामा हालेर ओसारेको सीसीटीभीमा देखिएको हो । कम्प्युटर सेटसँगै स्वास्थ शाखामा रहेको औषधिहरुसमेत चोरी भएको सदस्य आचार्यले बताए । इलाका प्रहरी कार्यालय धरानले घटनाको छानबिन भइरहेको जनाएको छ ।