इटहरीः पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराटचोकमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
दिउँसो १ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको को २ प ९५१६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–००१ ख ८६५४ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–१२ घर भएका ७२ वर्षीय दामोदर भट्टराईको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका भट्टराईलाई उपचारार्थ विराटनगरस्थित कोसी अस्पताल पठाइएकोमा उपचारका क्रममा दिउँसो २ः३० बजे उनको ज्यान गएको हो ।
दुर्घटना गराउने ट्रक र चालक तेह्रथुम घर भएका ३२ वर्षीय दालाक्पा शेर्पालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मोटरसाइकल र ट्रक दुवै सवारीका चालकका साथमा सवारी चालक अनुमतिपत्र नभेटिएको जनाउँदै प्रहरीले मोटरसाइकलले सडक पार गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।