काठमाडौँः नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग निर्माण समयमै पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।

निर्माणको बलियो आधारशिला तयार भएकाले निर्धारित मितिमै काम सम्पन्न गर्ने दृढता सेनाले व्यक्त गरेको हो ।

सैनिक मुख्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजना निर्देशक विकास पोखरेलले आयोजना पूर्वधार निर्माणको तीव्र चरणमा प्रवेश गरेकाले समयमै पूरा हुने बताए । आयोजनाको हालसम्म भएको समग्र प्रगतिबारे जानकारी दिँदै उनले भने, ‘विक्रम संवत २०८१ मङ्सिरसम्म सेनाले द्रुतमार्गको काम सम्पन्न गरेरै छाड्छ । त्योअनुसार योजना बनाइएको छ ।’ ललितपुरको खोकनाबाट सुरु भइ काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढ नजिक पूर्वपश्चिम राजमार्गमा पुगेर जोडिने उक्त द्रूतमार्गको लागत एक खर्ब ७५ अर्ब अनुमान गरिएको छ। चार लेन र तीनवटा सुरुङसहितको उक्त मार्गको लम्बाई ७२.५ किलो मिटर छ । विशेष प्रकृतिका १६ सहित ८७ वटा पुल रहने द्रुतमार्गका लागि गत आर्थिक वर्षमा आठ अर्ब ९६ करोड ८८ लाख रूपैयाँ बजेट विनियोजन भएकोमा वार्षिक प्रगति ९७.३५ प्रतिशत रहेको आयोजना प्रमुख पोखरेलले जानकारी दिए । आयोजनाको कूल कार्यप्रगति १६.१० प्रतिशत हासिल भएको छ । 

हालसम्म आयोजनाको कूल वित्तीय खर्च २५ अर्ब ३९ करोड रूपैयाँ रहेको छ । आयोजनाको आवश्यकता अनुसार पाँच हजार एक सय ७२ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिएकामा चार हजार सात सय ४५ रोपनी जग्गा प्राप्ति भएको र चार सय २७ रोपनीको मुआब्जा वितरण गर्न बाँकी रहेको छ । खोकना बुगमती क्षेत्रमा भने हालसम्म स्थानीय विवाद सुल्झन नसके पनि अब निकट भविष्यमै समाधान हुने अपेक्षा गरिएको जानकारी दिइएको छ । उक्त आयोजनाका लागि चालू आर्थिक वर्षमा आठ अर्ब ९३ करोड १० लाख रूपैयाँ बजेट विनियोजन भएको छ । आयोजनाका लागि चालू आर्थिक वर्षमा थप २५ अर्ब बजेट सरकारसँग माग गरिएको बताइएको छ । यसपछि वार्षिक रुपमा आयोजनाका लागि रु ५०÷५० अर्ब बजेट आवश्यक पर्ने सेनाले जनाएको छ । राष्ट्रिय गौरव र रणनीतिक महत्वको अयोजनाको काम पारदर्शी र गुणस्तरीय ढङ्गले निर्धारित समयसीमाभित्र अर्थात् आव २०८०÷०८१ सम्ममा सफलतापूर्वक सम्पन्न गर्न नेपाली सेना प्रतिबद्ध रहेको निर्देशक पोखरेलले बताए । -रासस