धरानः सुनसरीको धरान उपमहानगरपालिकाले कोरोना विरुद्धको खोपमा राजनीति गरेको र व्यवस्थापन राम्रो नगरेको चौतर्फी गुनासोका कारण व्यवस्थित ढंगबाट सञ्चालन गर्ने तयारी गरेको छ ।
मेयर तिलक राईको अध्यक्षतामा शुक्रबार कोरोना विरुद्धको खोप अभियान सम्बन्धमा धरान उपमहानगरपालिकामा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । धरानमा अब केही दिन भित्रमा अमेरिकी जोनसन एण्ड जोनसन खोप आउँदै छ । धरानमा गएको सोमबार, मंंगलबार र बुधबार तीन दिन चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो । यो खोप ५५ वर्ष उमेरभन्दा माथि र विभिन्न लक्षित समुहलाई लगाइएको थियो । तीन दिनमा धरानमा ११ हजार बढीले खोपको पहिलो मात्रा लगाएका थिए । बैठकमा तीन दिनसम्म सञ्चालन गरिएको खोप अभियानमा थुप्रै कमी कमजोरीहरु भएको विषयमा समीक्षासमेत गरिएको थियो । सर्वदलीय बैठकले आगामी खोप कार्यक्रमलाई सरल र सहज बनाउने निर्णय गरेको छ । ७ वटै खोप केन्द्रहरुमा राजनीतिक दलहरुबाट समेत अनुगमनका लागि १÷१ जना प्रतिनिधि पठाउने, ७ वटै खोप केन्द्रहरुमा सम्बन्धित वडाको १÷१ जना जनप्रतिनिधि रहनेसमेत व्यवस्था गर्ने निर्णय गरेको छ ।
खोप केन्द्रहरुमा लक्षित समुहका वडागत रुपमा अलग÷अलग लाइन लगाएर खोप लगाइने व्यवस्था गर्ने निर्णय गरेको छ । यस्तै, खोपलाई व्यवस्थित गर्न २० वटै वडाका वडाध्यक्षहरुकोे अध्यक्षतामा राजनीतिक दलको प्रतिनिधिसहितको संयन्त्र (समिति) बनाई लक्षित समुहको तथ्यांक संकलन, खोप केन्द्र व्यवस्थापन गर्नेसमेत निर्णय भएको छ । साथै, उपमहानगरपालिकालाई सुझाव दिनेगरी वडा समितिलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ । बैठकमा उपमेयर मञ्जु भण्डारी, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमुक्ति, संघीय लिम्बुवान, नेकपा माले र राप्रपा नेपालका नेताहरुको उपस्थिति रहेको थियो ।