इटहरीः सुनसरीको धरान ५ सुन्दर बस्तिमा एक पुरुषको शव पानी भर्न प्रयोग हुने हिल ट्याङ्कभित्र भेटिएपछि घटना अनुसन्धानको लागि प्रहरीको संयुक्त टोली परिचालित भएको छ ।
४७ वर्षीय विनोद लिम्बूको शव बुधबार साँझ आफ्नै घर भित्र रहेको हिल ट्याङ्कभित्र फेला परेको थियो । लिम्बूलाई हत्या गरी शव लुकाउने उद्देश्यका साथ १८ लिटरको उक्त हिल ट्याङ्कभित्र राखेर हत्यारा फरार भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतकको घाँटी रेटिएको, हात र शरीरका विभिन्न भागमा धारिलो वस्तुले प्रहार भएको देखिन्छ । घटना अनुसन्धानको लागि अहिले सङ्घीय प्रहरी एकाई कार्यालय धरान, १ नं. प्रदेश प्रहरीको (रिट) र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोली परिचालित भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार हत्या गरी शव ट्याङ्कमा लुकाएको हुन सक्ने आधारमा अनुसन्धान भइरहेको जानकारी दिए ।
‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक टोलीले घटनास्थलको अनुसन्धान गरी शव पोस्टमार्टमको लागि पठाइएको छ’ उनले भने ‘घटनास्थलमा ट्रयाकर डग ‘पिकु’ समेत प्रयोग गरेका छाँै ।’ मृतक इजरायलबाट फर्केपछि धरान ५ मा घर बनाएर बसेका थिए । मृतककी पत्नी पनि इजरायलमा नै रहेको बताइएको छ । उनी घरमा एक्लै बस्दै आएका थिए । परिवारका अन्य सदस्यहरू धरानको भोटे पुलमा छन् । परिवारसँग सम्पर्क नभएपछि आफन्तजन आएर हेर्दा रगतको टाटाहरू देखेको र प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेर अनुसन्धान एवं खोजी गर्ने क्रममा शव ट्याङ्कभित्र भेटिएको हो ।