इटहरीः इलामको सूर्योदय नगरपालिका–८ मालुममा रहेको रक्तकाली टी स्टेटमा आगलागी भएको छ ।
गएराति करिब १२ः०० बजे विद्युत् चुहावट भई उद्योगमा आगलागी भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आगलागीबाट उद्योगमा राखिएका तयारी चिया, प्रशोधन गर्ने मेसिन र अन्य भौतिक पूर्वाधार जल्दा तीन करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागी भएको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल बिओपी पशुपतिनगरका प्रहरी निरीक्षक खतिवडाको नेतृत्वमा सशस्त्र प्रहरी बल, प्रहरी चौकी फिक्कलको टोली र सशस्त्र प्रहरी बेस क्याम्प आइतबारेको सशस्त्र प्रहरी टोली घटनास्थलमा पुगी पाँच घण्टाको प्रयासमा आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीबाट कुनै मानवीय क्षति नभएको जनाउँदै प्रहरीले विस्तृत अनुसन्धान सुरु गरिएको जनाएको छ ।