इटहरीः कांग्रेस सांसद देवेन्द्रराज कडेँलले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता ऐन चाँडो पारित गरी कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।
विधेयक रोकेर विवाद बढाउने, अध्यादेश जारी गर्नेजस्ता अनेक बाहनाबाजी गर्दा अघिल्लो सरकारका पालामा विधेयक पारित हुन नसक्दा ऐनको अभावमा नागरिकहरु नागरिकताबाट बञ्चित भइरहनु परेकाले विधेयक पारित गरी ऐन कार्यान्वयनमा ल्याउनुपर्ने उनले बताए । “मेचिदेखि महाकालीसम्म लाखौं युवा नागरिकताविहीन हुँदा अन्योलमा छन् । विगत सरकारले अध्यादेश र अन्य विभिन्न बाहनामा झुलाउने काम गर्दा युवा विदेश जान पाएका छैनन्, जागिर खान पाएका छैनन्, अध्ययन गर्न पाएका छैनन् । व्यवसाय गर्न पाएका छैनन् । उनीहरुको भविश्य अन्योलमा छ,” कडेँलले भने, “उनीहको भविश्य सुनिश्चित गर्न यो सरकारले अठोटका साथ अविलम्ब नागरिकता ऐन ल्याउन आवश्यक छ ।”
नागरिकताका अभावमा युवा पीढीलाई दैनिक जीवनयापन गर्न गम्भीर जटिलता उत्पन्न भएकोमा जोड दिँदै उनले भने, “चाहे जन्मसिद्धका सन्तती हुन् वा अंगिकृतबाट बञ्चित भएका नागरिक र तीनका सन्तान्, आमाको नाममा नागरिकतना पाउनेहरु हुन् वा पिताको अत्तोपत्तो नभएका नागरिकका सन्तान हुन् । वैवाहिक अंगिकृत (यसका विषयमा हाम्रो समितिमा पनि केही कुरा मिल्न सकेन) । यी सबैलाई नागरिकता दिन आवश्यक छ ।” आज बसेको प्रतिनिधिसभा बैठकका क्रममा सांसद कँडेलले यस्तो धारणा राखेका हुन् ।