धरानः सुनसरीको धरान उपमहानगरपालिका ११ न वडाको सर्दु भेगमा सुनौलो सक्षम महिला समुहको नेतृत्वमा वृक्षारोपण गरिएको छ ।
वर्सेनी सर्दु खोलाबाट हुने जोखिम न्यूनीकरण गर्न स्थानीय सरकारले महत्त्वपूर्ण भूमिका खेलिरहेको बेला सुनौलो सक्षम महिला समूहले थप महत्त्वपूर्ण भुमिका खेल्दै वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । पञ्चकन्या डिभिजन वन कार्यालयले विभिन्न जातका १६०० बिरुवा उपलब्ध गराएको थियो । धरान ११ का वडाध्यक्ष बाबुलाल लामाको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा माओवादी केन्द्र धरानका नगर इन्चार्ज चोत्लुङ्ग लिम्बू, नेकपा एमालेका नगर सचिवालय सदस्य तथा वडा इन्चार्ज सुशील सुवेदी, जनप्रतिनिधि वडा सदस्य कृष्ण रिजाललगायत अन्य विभिन्न व्यक्तिहरुको सकृय सहभागिता रहेको थियो ।
विभिन्न जातका १ सय ५० वटा बोटविरुवाहरु रोपिएको सुनौलो सक्षम महिला धरान ११ की अध्यक्ष सहारा गुरुङले जानकारी दिइन् । बाँकी रहेको बोटबिरुवा घर–घर तथा विभिन्न संस्थाहरुलाई वितरण गरिने सचिव संगीता आले मगरले बताइन् । केही समययता सर्दु खोलाबाट हुने जोखिम न्यूनीकरण गर्न वडाध्यक्ष लामाको पहलमा ८० थान तारजाली सर्दुखोलाको विभिन्न बस्तिहरुलाई दिइएको थियो ।