इटहरी: अहिले अपि पावर कम्पनीले आफ्नो शेयर लिलामीमा राखेर बेच्दैछ । नारायणी डेभलपमेन्ट बैँकको लिलामी शेयर भर्खरै मात्र बिक्री बन्द भयो ।

बजारमा चाँडै प्रिमियर इन्स्योरेन्स, सिटिजन बैँक र अन्य पनि थुप्रै कम्पनीका लिलामी शेयरहरु आउने क्रममा छन् । वास्तवमा लिलामी शेयर भनेको के हो त ? कस्तो शेयर लिलामीमा राखिन्छ ? लिलामी शेयर कसरी खरिद गर्न सकिन्छ ? कति मूल्यमा खरिद गर्ने आदि जिज्ञासा र अपूर्ण ज्ञानका कारण कतिपय लगानीकर्ताहरु शेयर बजारको वास्तविक मुनाफा कमाउन सकिरहेका छैनन् । एक हिसाबले भन्ने हो भने लिलामीमा शेयर किन्न पाउनु भनेको सस्तो मूल्यमै शेयर किन्न पाउनु जत्तिकै हो । कम्पनीहरुले प्रचलित माध्यमबाट शेयर बेच्न नसकेको अवस्थामा आफ्नो पुँजीलाई स्थायित्व कायम गरिरहनको लागि शेयर लिलामीमा राख्न पाउने प्रचलित व्यवस्था रहेको छ ।

कतिपय कम्पनीका शेयरधनीले कम्पनीबाट आफ्नो स्वामित्व निकाल्न चाहेको अवस्थामा त्यो शेयर स्वामित्वलाई अर्को व्यक्ति, तथा कम्पनीलाई बेच्नको लागि शेयर लिलामीमा राख्नुपर्छ । धेरैजसो सँस्थापक शेयरहरु लिलामीमा राखिने गरेको छ । तर सँस्थापक शेयर लिलामीबाट किन्नको लागि त्यही सँस्थाको विद्यमान सँस्थापक हुनुपर्ने प्रावधान छ । तर विद्यमान सँस्थापकबाट बिक्री नभएको खण्डमा भने सर्वसाधारण लगानीकर्ताले पनि सँस्थापक शेयर खरिद गर्न सक्छन् । सँस्थापक शेयर खरिदको लागि झण्झटिलो प्रक्रिया भनेको स्थायी लेखा नम्बर तथा कर चुत्ता प्रमाणपत्र आदि छन् । त्यो साधारण शेयर लिलामीमा आवश्यक पर्दैन । लिलामीमा शेयर खरिद गर्नु भनेको खरिद गर्ने बेलामा कारोबार भइरहेको दरभाउभन्दा कम दरभाउमै किन्नु पनि हो । जसरी गाडी, सुन, चाँदि तथा ठूला गनिए मानिएका प्रसिद्व व्यक्तिहरुले प्रयोग गरेका सामानहरु लिलामीमा राखिन्छ ।

ती सामानहरुको महत्व फरक फरक हुन्छ । प्रायजसो लिलामीमा राखिने सामानको भाउ सस्तो हुन्छ भन्ने मान्यता छ । शेयरमा पनि त्यही सुत्र लागु हुन्छ । कतिपय लगानीकर्ताले नजानेर हो या त जसरी पनि त्यो शेयर किन्छु भनेर हो लिलामी शेयरमा पनि बजार मूल्यभन्दा बढी दरभाउ राखेर शेयर खरिद गर्ने आशय राखेको पाइन्छ । लिलामी शेयरमा यसो गर्नुलाई असल मानिँदैन बजार मूल्यभन्दा बढी मूल्य हालेर खरिद गर्नको लागि लिलामी कुर्नै पर्दैन दोस्रो बजारबाट सजिलै खरिद गर्न सकिन्छ । त्यसो भएको हुनाले आफूले खरिद गर्न चाहेको कम्पनीको पछिल्लो कारोबार भएको बजार मूल्य कति छ त्यो मूल्य हेरेर त्यसको १० देखि २० प्रतिशत कम मूल्यमै किन्न चाहेको आशय व्यक्त गर्नुलाई बुद्वीमानी मानिन्छ । कम्पनीको पोर्टफोलियो हेरेर चुक्ता पँुजी कति छ , अघिल्लो आर्थिक वर्षमा कति नाफा गरेको थियो, शेयर धनीलाई कक्तिको मुनाफा बाँडिरहेको छजस्ता कुरासमेत बुझेर यदि उत्तम भएको खण्डमा १० देखि २० प्रतिशत कम र केही कमजोर देखिएमा ३० प्रतिशतसम्म कम मूल्य राखेर खरिद गर्ने आशय व्यक्त गर्न सकिने विज्ञहरुको सुझाव छ ।

कसरी खरिद गर्ने त लिलामी शेयर ?
लिलामी शेयर बिक्री गर्नका लागि कम्पनीले बिक्री प्रबन्धक तोकेको हुन्छ । तोकिएको बिक्री प्रबन्धकले मान्यता प्राप्त बैँक तथा वित्तीय सँस्थाका शाखासमेत तोकेर बिक्री केन्द्र निर्धारण गर्ने गरेको छ । लगानीकर्ताले तोकिएको बैँकको शाखा कार्यालयमा गएर खुलेको लिलामीसम्बन्धी सम्पूर्ण जानकारी पाउन सक्छन् । बिक्री केन्द्रमा गएर १ सय रुपैयाँ तिरेपछि लिलामी शेयरको आवेदन फारम पाइन्छ । आवेदन फारममा गोप्य हिसाबले आफ्नो डिम्याट खाता नम्बर सहितको सम्पूर्ण विवरण भर्नुपर्ने हुन्छ । विवरणमा कति कित्ता शेयर खरिद गर्न चाहेको हो, कति मुल्यमा खरिद गर्न चाहेको हो यी सबै विवरण खुलाई उक्त शेयर खरिद गर्न चाहिने रकमसमेत त्यही बैँक तथा वित्तीय सँस्थाको शाखा कार्यालयमा बुझाएर नगद बुझाएको रसिदसमेत संलग्न गरी खाममा गोप्य सिलबन्दी गरेर राख्नुपर्छ । खाममा सफासँग भरेको फारम, नगद जम्मा गरेको भौचर, तथा एकाउण्ट पेयवल चेकजस्ता दस्तावेज संलग्न गरी खामलाई सिलबन्दी गरेर लाहाछापसमेत लगाउनुपर्ने प्रावधान छ । लाहाछाप सोही बैँक तथा वित्तीय सँस्थाको कार्यालयमा पाउन सकिन्छ । यसरी बन्द गरिएको खाम बोलबत्र खोल्ने बेलामा मात्र खोलिने नियम रहेको छ ।

कसलाई पर्छ, कसलाई पर्दैन ?
नियमपूर्वक समावेस भएका सबै बोलकबोललाई लिलामीमा राखिन्छ । बिक्री प्रबन्धकले शेयर निष्कासन भएको कम्पनीको कट अफ मूल्य निर्धारण गर्छ । सबै शिलबन्दी खामलाई खोलिन्छ र न्यूनतम मूल्य कति कतिमा शेयर खरिद गर्ने आशय राखिएको छ, त्यो छुट्टाइन्छ । बिक्री प्रबन्धकले तोकेको कट अफ मूल्यभन्दा कममा खरिदको आशय व्यक्त गर्ने लगानीकर्ताले लिलामी शेयर पाउँदैनन् भने कट अफ र सोभन्दा बढी मूल्य राखेर शेयर खरिदको आशय व्यक्त गर्ने लगानीकर्तालाई मापदण्ड र बिक्री प्रबन्धकले तोके अनुसार लिलामीको शेयर दिइन्छ । यसरी खरिद गरेको शेयर बिक्री प्रबन्धकले लगानीको आशय व्यक्त गर्ने व्यक्ति या सँस्थाको डिम्याट खातामा जम्मा गरिदिन्छन् ।