इटहरीः जन्मपछि मृत्यु अवश्यम्भावी छ । तर, प्रत्येक मानिसको मृत्युका कारण फरक हुन सक्छन् । अनौठो संयोग भन्नुपर्छ, मंगलबार राति १०ः०० बजे झापाको कन्काई नगरपालिका ३ का एक दम्पत्तिको एकसाथ मृत्यु भएको छ ।

मंगलबार बिहान टिकटक एकाउन्टमा ‘बाँचे पनि तिम्रै साथमा हुने हो, हामी मरे सँगै धर्ती छोेडौँला’ बोलको गीतको भिडियो बनाई टिकटकमा अपलोड गरेको १२ घण्टा नबित्दै कन्काई नगरपालिका ३ का ४३ वर्षीय पूर्णबहादुर बिष्ट र उनकी ३६ वर्षीया श्रीमति भीमा बिष्टले गीतमा भनेझैँ एकसाथ सदाका लागि धर्ती छोडेका छन् । यस प्रकारको अनौठो संयोगका साथ संसारमा कमै मात्र जोडीले एकसाथ मृत्यु वरण गरेका छन् । @raj_bista1 नामको टिकटक एकाउन्टबाट बिष्ट दम्पत्तिले मंगलबार बिहान ‘धर्ती आकाश जोड्नलाई म सक्दिनँ, तर मनसँग मन जोडौँला, बाँचे पनि तिम्रै साथमा हुने हो, हामी मरे सँगै धर्ती छोेडौँला’ बोलको गीतमा भिडियो बनाई अपलोड गरेका थिए । सो भिडियो यतिबेला टिकटकमा भाइरल भएको छ ।

झापाको सुरुङ्गास्थित हेवन होटलका सञ्चालकसमेत रहेका बिष्ट दम्पत्ति टिकटकमा भिडियो अपलोड गरी घुम्नका लागि प्रदेश १ कै चर्चित पर्यटकीयस्थल भेडेटारतर्फ लागेका थिए । दिनभर भेडेटारको घुमाइ र बसाइपछि घर फर्कने क्रममा उनीहरु सवार प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई झापाको दमक नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गमा को ४ ख ८७३० नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बिष्टद्वयलाई दमकस्थित लाइफलाइन अस्पताल पुर्याइएकोमा चिकित्सकले उनीहरुलाई तत्कालै मृत घोषित गरेका थिए । एकैसाथ बाँच्ने मर्ने प्रतिबद्धता टिकटकमार्फत् व्यक्त गरेका बिष्ट दम्पत्तिको हिजो एकै चितामा दाहसँस्कार गरिएको छ । 

हेर्नुहोस् बिष्ट दम्पत्तिले मृत्युअघि टिकटकमा राखेको भिडियो: