इटहरीः प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेश्रो लहरको पुर्व तयारीमा जुट्न निर्देशन दिएकी छन् ।

विज्ञहरुले कोरोनाको तेश्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएकाले सोही अनुसारको तयारीमा जुट्न उनले निर्देशन दिएकी हुन् । कोभिड–१९ को सम्भावित तेश्रो लहरको पूर्वतयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा सामाजिक विकास मन्त्री राईले सो निर्देशन दिएकी हुन् । मन्त्री राईले भनिन्,‘ हामी तयारी अवस्थामै थिएनौँ भन्ने छुट कसैलाई छैन ।’ कोभिड–१९ को सम्भावित तेश्रो लहरको पुर्व तयारीमा रहन निर्देशन दिँदै उनले समस्या र चुनौतिको सबैले मिलेर मात्रा समाधान गर्न सकिने बताइन् । कोरोना परास्त गर्नका लागि सबै एकजुट भए मात्र सम्भव हुने उनले बताइन् ।

मन्त्री राईले अस्पतालको क्षमता अनुरुप कोरोना संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको बताइन् । मन्त्री राईले प्रत्येक जिल्लामा गठित डिसीसीएमसीले आफ्नो जिल्ला भित्रका सबै पालिकाहरुको अवस्था, आवश्यकता र तयारीसहित जिल्लाको समस्या, आवश्यकता पहिचान गरी आवश्यक तयारीसहित सम्पूर्ण जानकारी र माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेस गर्न निर्देशन दिएकी छन् । सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको भर्चुअल बैठकमा स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई, १४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरु, सदरमुकामका पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।