इटहरीः साताको अन्तिम दिन बिहिबारको कारोबारबाट नेपालको सेयर बजार परिसूचक नेप्से परिसुचक १५ अँकले घटेर ३०७९ दशमलव ८३ अङ्कमा कायम भएकाृ छ ।

यस दिन साताकै कम कारोबार भएको छ भने अधिकांश कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ । अघिल्लो दिन तीन समुहबाहेक अन्य समुहको कारोबारमा हरियाली छाएको थियो भने आजको कारोबारमा हरियाली ल्याउने दुई समुह मात्रै छन् । बिहीबार शेयर बजार परिसूचक जनाउने सेन्सेटिभ इन्डेक्समा पनि ३ दशमलव ४७ अङ्कको गिरावट देखिएको छ । बिहीबार क्रमशः जीवन बिमा, निर्जीवन बिमा, वित्तीय सँस्था र हाइड्रोपावर समुहका लगानीकर्ताले ठूलो नोक्सानी व्यहोरेका छन् । यस दिन २ सय १७ कम्पनीको २६ लाख ४० हजार २३ कित्ता शेयर १० अर्ब, ९० करोड, ५८ लाख ३० हजार ६४ रुपैयाँ बराबरको कारोबार भएको छ । 

बिहीबार, जीवन विकास लघुवित्त कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ । जीवन विकासका लगानीकर्ता पहिलो कारोबारबाटै मालामाल बनेका छन् । नेपाल स्टक एक्चेन्जले तोकेको अधिकतम मूल्यलाई पछ्याउँदै कम्पनीको शेयर ९ सय १४ रुपैयाँमा कारोबार भएको थियो भने बजार बन्द हुने समयसम्ममा कम्पनीको शेयर ९ सय ८९ दशमलव १० रुपैयाँमा कारोबार भएको छ । पहिलो दिनकै कारोबारबाट जीवन विकासका लगानीकर्ताको १ सय रुपैयाँको लगानी झण्डै एक हजार पुगेको छ ।