काठमाडौँः कोरोनाभाइरसको महामारीपछि नेपालमा आत्महत्याको घटना बढेको पाइएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७७÷०७८ मा आत्महत्याका घटनामा १४ प्रतिशतले वृद्धि भएको पाइएको हो । कोरोना महामारीका कारण व्यापार–व्यावसायमा भएको घाटा, चरम निराशालगायत कारणले आत्महत्याको दर बढेको प्रहरी अधिकारीहरुको बुझाइ छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकानुसार नेपालमा महिलाभन्दा पुरुषले बढी आत्महत्या गर्ने गरेको देखिन्छ । अधिकांश झुन्डिएर आत्महत्याका घटना हुने गरेका छन् । यसबाहेक पछिल्लो समय बालबालिकाले पनि आत्महत्याको बाटो रोजेको देखिन्छ। आर्थिक वर्ष ०७७÷०७८ मा सात हजार ११७ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका सात हजार ११७ वटा घटनामध्ये झुन्डिएर पाँज हजार ७२० जना, विष सेवन गरेर एक हजार २७६ जना, हामफालेर ४६ जना, पानीमा हामफालेर डुबेर ३६ जना, आगो लगाएर १९ जना, हातहतियार औजारबाट १८ जना र करेन्ट लाएर दुईजनाले ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष ०७६÷०७७ मा आत्महत्याका ६ हजार २४१ वटा घटनाहरू दर्ता भएका थिए । तुलनात्मक रुपमा आर्थिक वर्ष ०७७÷०७८ मा आत्महत्यासम्बन्धी घटनाहरू १४.०४ प्रतिशतले वृद्धि भएको देखिन्छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७७÷०७८ को तथ्यांक विश्लेषण गर्ने हो भने दैनिक १९ जनाभन्दा बढीले आत्महत्या गर्ने गरेको देखिन्छ । प्रहरी अधिकारीहरुका अनुसार नेपाल विश्वमा बढी आत्महत्या हुने देशहरूमध्ये शीर्ष १५ भित्र पर्छ । चालु आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या बढ्नुको पछाडि कोरोना महामारीले उत्पन्न गरेका कारणहरु रहेको प्रहरी अधिकारीहरुको बुझाइ छ । व्यापारमा घाटा, बैंकको ऋणलगायत कारणले कतिपयले आत्महत्याको बाटो रोजेको देखिन्छ । धेरैजसो आत्महत्यामा सम्बन्धमा भएको प्रेममा धोका, मानसिक तनाव, पारिवारिक तनाव, बेरोजगारी, कमजोर आर्थिक अवस्था मुख्य कारण रहेको प्रहरी अनुसन्धानमा देखिएको छ । -बाह्रखरीबाट