इटहरीः मोरङको सुन्दरहरैँचामा नेपाली कांग्रेसको कृयाशील सदस्यता वितरणमा विवाद हुँदा असन्तुष्ट बनेका दुई जना कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्ने कांग्रेस कार्यकर्ताहरुमा सुन्दरहरैंचा–९ का चन्द्रप्रसाद ढकाल र निलबहादुर कार्की रहेका छन् । उनीहरुलाई कांग्रेसतर्फका प्रदेशसभा सदस्य राजकुमार ओझाले पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका दुवै कार्यकर्ता यसअघि एमालेमै रहेकोमा असन्तुष्टिकै कारण १० महिनाअघि मात्र कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुले पुनः पुरानै पार्टी समाएका हुन् । १० महिनाअघि मात्र पार्टीमा प्रवेश गरेकालाई कृयाशील सदस्यता दिन लागेको भन्दै कांग्रेसभित्र विवाद भएपछि उनीहरुले कृयाशील सदस्यता नपाउने देखेर पार्टी परित्याग गरेका हुन् । सुन्दरहरैंचा नगरपालिकाको वडा न ८, ९, ११, १२ मा पार्टीको वडा समितिले सिफारिस गरेबाहेकका व्यक्तिलाई क्रियाशील सदस्यका लागि प्रस्ताव गरिएपछि कांग्रेसभित्र तनाव उत्पन्न भएको हो ।

nc to uml2

आसन्न नगर अधिवेशनमा केही सीमित नेताहरुबाट सञ्चालित समूहबाट पार्टी संगठनमा योगदान नै नगरेका केही नेताका आडमा रहेर उम्मेद्वारी घोषणा भएको भन्दै पार्टीमा लामो समयदेखि काम गरेका कार्यकर्तामा पनि असन्तुष्टि देखिन्छ । नेपाली कांग्रेसमा क्रियाशील सदस्यलाई पार्टीको मेरुदण्ड मानिन्छ । सदस्यता वितरणको लागि विधानमा धेरै राम्रो मापदण्ड तोकिएको कांग्रेसका कार्यकर्ता बताउँछन् । पार्टीमा कुनै योगदान नगरी पार्टी प्रवेश गरेको १० महिनामै कृयाशील सदस्यता दिनु विधानविपरीत हुने कार्यकर्ताहरुको ठहर छ । नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो परिमाणमा यस पटक क्रियाशील सदस्यता वितरण गरेको छ ।

पार्टीले सदस्यता वितरण प्रक्रियालाई संस्थागत गर्न नवीकरण, समायोजन र वडामा न्यून सदस्य संख्या भएमा केही थप गर्ने गरी शतप्रतिशत सदस्यता माग गरेको थियो । पुराना सदस्य, समायोजन तथा नवीकरणसहित थप प्रस्तावित क्रियाशील सदस्यको आवेदन केन्द्रीय समितिले अद्यावधिक गर्नुपूर्व नवीकरण छुट भएका र प्रस्तावित नाममा केही विमति भए उजुरी गर्न सकिने व्यवस्था गरेको थियो । धेरै सदस्य थपिएका कारण केन्द्रीय समितिले निर्माण गरेको क्रियाशील सदस्य छानबिन समितिले निर्धारित समयमा काम गर्न नसक्ने गरी देशका अधिकांश जिल्ला, क्षेत्र, नगर र वडामा उजुरी परेको बताइएको छ । छानबिन समितिले उजुरीमाथि छानबिन गरी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।