इटहरीः इटहरी उपमहानगरपालिकाले गत साउन १०, ११, १२ र १३ गते विभिन्न खोप केन्द्रबाट साढे १० हजारभन्दा बढी नागरिकलाई खोप लगाएको जानकारी दिएको छ ।

उपमहानगरले ५५ वर्ष वा सोभन्दा माथिका जेष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सहचालकलाई लगाएको कोरोना भाइसर विरुद्धको भेरोसेल खोप चार दिनमा १० हजार ७ सय ७८ जनाले लगाएको जनाएको छ । उपमहानगरले इटहरी अस्पताल, परिवार स्वास्थ्य केन्द्र इटहरी ५, आयुर्वेद औषधालय इटहरी २, हाँसपोसा स्वास्थ्य चौकी, खनार स्वास्थ्य चौकी, पकली स्वास्थ्य चौकीमा २० वटा वडाका लक्षित वर्गलाई खोप वितरण गरेको हो । तर उपमहानगरको भद्रगोल खोप व्यवस्थापनले खोप लगाएर ढुक्क हुनेभन्दा कोरोना लाग्ने डर बढेको छ । खोप लगाउने क्रममा भएको भीडभाडले सबैलाई सुरक्षित हुने आशभन्दा उल्टै कोरोना लाग्ने हो कि भन्ने त्रास पैदा भएको छ । ‘यो खोप केन्द्र, जुन इटहरी उपमहानगरपालिका र इटहरी अस्पतालले व्यवस्था गरेको छ नि यहाँ व्यवस्थापन बिल्कुल छैन’, नागरिक समाज इटहरीका पूर्वअध्यक्ष डानियल सुब्बाले भने, ‘यो भीड हेर्दाचाहिँ खोप लगाएर कोरोना नियन्त्रण होइन यसले त समाजमा भव्यताका साथ कोरोना फैल्याउने देखिन्छ ।’

khop-bhid

उनी मात्र होइन, इटहरीका विभिन्न ठाउँबाट कोरोना खोप लगाउन आउने नागरिकमा सुरक्षित हुने विश्वासभन्दा कोरोना लाग्ने डर अगाडि देखिन्छ । ‘यो खोप लगाउने केन्द्रभन्दा कोरोना सार्ने केन्द्रजस्तो छ’, यहाँ खोप लगाउन आएका योगेन्द्र गौतमले भने, ‘यो त योजना नै नगरी काम गरेको छ । टोल टोलमा गएर खोप लगाएको भए यस्तो भीड नै हुँदैनथ्यो ।’ उनले उपमहानगरको यो खोप वितरण गर्ने प्रणालीले कोरोनाबाट बच्नेभन्दा संक्रमणबाट मर्ने खतरा बढेको बताए । जेष्ठ नागरिक र अशक्तहरुले पनि खोप लगाएर ढुक्क हुने अवस्था नरहेको बताएका छन् । ‘हामी बिहान ७ बजेबाट यहाँ लाइनमा छौँ । खोप ११ः२५ मा सुरु भयो’, एक जेष्ठ नागरिकले भने, ‘त्यसपछि थामिनसक्नु भीड हुन थालो । अहिलेसम्म खोप लगाउन पाएका छैनौँ । बुढापाका, अशक्तलाई प्राथमिकता दिनुपर्ने तर यहाँ छैन । हामीलाई साह्रै गाह्रो परेको छ ।’ उपमहानगरले भने अन्य ठाउँमा पनि खोप केन्द्र तोकिएको तर नागरिहरु एकै ठाउँमा आएकाले व्यवस्थापनमा चुनौति थपिएको भन्दै आफ्नो बचाउ गर्दै आएको छ । उपमहानगरले तोकेका सबै खोप केन्द्रको चाप हेर्दा उपमहानगरको यो बचाउसँग मेल खाएको पाइँदैन ।

khop-vidavad-itahari3