इटहरीः वर्षा याम सुरु भएसँगै इटहरीमा कोरोना संक्रमितका साथै सिजनल फ्लूका बिरामी पनि प्रतिदिन बढ्दै जान थालेका छन् ।
अहिले इटहरीका सरकारी तथा निजी अस्पतालहरुमा सिजनल फ्लू बिरामीहरु खचाखच हुन थालेका छन् । ज्वोरो आउने, रुघाखोकी लाग्नेजस्ता लक्षण देखिने बिरामी अधिकांश अस्पतालमा आउने गरेका छन् । सुनसरीमा निषेधाज्ञा खुकुलो भएसँगै इटहरीमा संक्रमित संख्या बढ्दै गएपनि केही दिनयता तुलनात्मक रुपमा कम संक्रमित देखिएको इटहरी आइसोलेसन केन्द्रका इन्चार्ज शिवकुमार झाले जानकारी दिएका छन् । यस्तै, नेपालमा कोरोना भाइरसको अप्पा भेरियन्ट पनि देखिएकाले त्यसको खतरा पनि बढेको उनको भनाइ छ । अहिले इटहरीका अस्पतालमा आउने बिरामीमध्ये ८० प्रतिशत्मा कोरोना पुष्टि हुने गरेको अस्पताल सञ्चालकहरु बताउँछन् । ‘अहिलेचाहिँ हाम्रो यस हस्पिटलमा रुघामर्की, भाइरल ज्वरोका बिरामी एकदम बढेका छन्’, इटहरीमा रहेको वेदान्त अस्पतालका सञ्चालक इन्द्र श्रेष्ठले भने, ‘मान्छेहरु आत्तिरहेका छन् । कोभिड परीक्षण गर्दा पनि ८० प्रतिशतलाई पोजेटिभ आएको छ भने २० प्रतिशतलाई मात्र भाइरल भनेर आएको छ ।’ यसरी कोरोना परीक्षण गरिएका र नेगेटिभ आएकलाई आफूहरुले उपचार गरिरहेको उनले बताएका छन् ।
प्रतिशतको हिसाबमा भाइरल ज्वरोका बिरामी कम भए पनि संख्यात्मक रुपमा बढी रहेको उनको भनाइ छ । ‘प्रायः जस्तो यहाँ आउने बिरामीले भाइरलको लक्षण लिएर आउँछन्’, सोही अस्पतालका फिजिसियन डा.आदर्श झाले भने, ‘यसरी आउने बिरामीलाई हामीले परीक्षणको लागि पठाएका छौँ । धेरैलाई पोजेटिभ देखिएको छ । केहीमा भाइरल ज्वरो पनि छ । अहिले इटहरीका घरैपिच्छे सिजनल इन्फेक्सन र कोरोनाका बिरामी छन् ।’ यहाँ मात्र हाइन, इटहरीका अन्य अस्पतालमा पनि कोरोना र सिजनल फ्लू बीचको अनुपातः ४ः१ रहेको छ । हाल उपमहानगरले पीसीआर परीक्षण भने बन्द गरेको आइसालेसन इन्चार्ज झाले जानकारी दिएका छन् । उनका अनुसार अहिले इटहरीमा एन्टिजेन परीक्षण मात्र हुने गरेको छ । अहिले इटहरीमा भाइरल ज्वरो र कोरोनाका बिरामी बढ्नुको मुख्य कारण भने लापरबाही भएको चिकित्सकहरुले बताएका छन् ।
‘मान्छेहरु आफैँ मास्क लगाउँदैनन् । स्वास्थ्य मापदण्ड पालना गर्दैनन्’, फिजिसियन डा.झाले भने, ‘अलिकति लकडाउन खुकुलो भयो भन्दैमा मास्क खोलेर हिँड्ने गर्छन् अनि संक्रमणको दर त बढिहाल्छ नि !’ तर, आइसालेसन इन्चार्ज डा.झा भने पछिल्लो समय इटहरीवासीको चेत खुलेको बताउँछन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र स्वयम् सजगतामा विशेष ध्यान जान थालेकाले केही दिनयता कोरोना संक्रमित घटेको उनको भनाइ छ । ‘यो संक्रमणको दर हामीले गरिरहेको परीक्षणको आधारमा पहिलेको भन्दा अहिले अलिकति कम भएको छ’, आइसोलेसन इन्चार्ज झाले भने, ‘स्वास्थ्यको मापदण्ड पनि पालना भएको देखिन्छ । यही कारण पनि संक्रमण घटेको हुन सक्छ ।’
कसरी थाहा पाउने कुन कोरोना, अनि कुन सिजनल फ्लू भनेर ?
सामान्यतया कोरोना भाइरस र सिजनल फ्लूका बिरामीहरुको लक्षण उस्तै हुन्छ । तर, एउटै भने हुँदैन । यीनीहरुले पार्ने प्रभाव, सुरु हुने समयबाट सिजनल फ्लू हो या कोरोना भाइरस हो भनेर छुट्याउन सकिने चिकित्सकहरुले बताएका छन् । ‘सिजनल इन्फेक्सन पनि भाइरसले नै गर्छ । इन्फ्लूएन्जा भाइरसले गर्दा यो हुन्छ । अनि कोभिड पनि भाइरसबाटै हुन्छ’, डा. निशान शर्मा बन्जाराले भने, ‘यसले गर्दा सिम्टम (लक्षण) चाहिँ एउटै हुन जान्छ । यसको लागि हामीले भाइरसको इनप्रुभेसन पिरियडलाई हेर्नुपर्छ ।’ कोरोना भाइरस र सिजनल फ्लू छुट्याउने सजिलो उपाय भने समयावधि भएको उनी बताउँछन् । ‘भाइरसबाट इन्फेक्टेड भएपछि त्यो भाइरसले देखाउने फस्ट सिम्टम भन्छ । त्यो देखाउने एउटा समय वा पिरियड हुन्छ’, डा. बन्जाराले भने, ‘यो पिरियड, कोरोना भाइरसको चाहिँ दुई दिनदेखि १४ दिनसम्म हुन्छ भने भाइरल ज्वरो वा सिजनल फ्लूले एकदेखि ४ दिन भित्रमा नै फस्ट इन्फेक्सन देखाउन थाल्छ ।
यसरी कोरोना र सिजनल फ्लू सजिल्यै छुट्याउन सकिन्छ ।’ केही लक्षण भने यी दुवैमा समान देखिने उनी बताउँछन् । ‘दुवैमा अन्यचाहिँ उस्तै लक्षण देखा पर्छन् । जस्तैः ज्वरो आउने, जीउ दुख्ने, टाउको दुख्ने र मांशपेसी कट्कट खाने’, डा. बन्जाराले भने, ‘तर सिजनल फ्लूमाचाहिँ रनिङ नोज भन्छौँ, नाकबाट तरतरी सिँगान चुहिने यी सिन्टमहरु चाहिँ फरक पर्न जान्छ ।’ अहिले कोरोनासँगै अन्य रोग पनि बढी मात्रामा देखापर्ने समय भएकाले जतिसक्दो सरसफाइ र स्वास्थ्यकर खानापान तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न उनले अनुरोध गरेका छन् । यसो गरे अहिले देखिइरहेको कोरोना संक्रमण र सिजनल फ्लूका बिरामी घट्ने उनको विश्वास छ ।