इटहरीः मैलुङ्ख खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर आईपीओ आज साउन १४ गतेबाट बिक्री खुल्ला गरिएको छ ।
गत महिना नै धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको कम्पनीले अङ्कित मूल्य १०० का ७ लाख ३६ हजार २८६ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । बिक्री खुल्ला गरिएको शेयरबाट कम्पनीको ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको रकम कुल चुक्ता पुँजीमा गाभिने छ । कुल बिक्री खुल्ला गरिएको मध्येबाट ५ प्रतिशत शेयर सामुहिक लगानी कोषका लागि छुट्टाइएको छ भने बाँकी २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ ।
कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएकोबाट बाँकी हुन आउने ६ लाख ८४ हजार ७४६ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । सि आश्वामा आबद्व बैँक तथा वित्तीय सँस्थाबाट तथा घरमै बसिबसी मेरो शेयरबाटै लगानीकर्ताले यो शेयरमा आवेदन दिन सक्नेछन् । यसरी आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म माग गरी आवेदन दिन सकिने बताइएको छ । मैलुङ्ख खोलाको शेयरमा साउन १४ देखि छिटोमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । ३७ लाखको हाराहारी डिम्याट खातावाला रहेको बजारमा १० कित्तासम्म मात्र शेयर आवेदन दिन उत्तम हुने विज्ञहरुको सुझाव छ ।