इटहरीः सुनसरीको धरान उपमहानगरपालिका ५, तल्लो देउरालीस्थित सुन्दर बस्तिमा खानेपानीको ट्याङ्कीभित्र एक युवकको शव फेला परेको छ ।

मृत फेला पर्नेमा ४७ वर्षीय विनोद लिम्बू रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार आफ्नै घरको ट्याङ्कीमा लिम्बू मृत भेटिएका हुन् । शव भेटिएको स्थाननजिकै ह्याम्मर तथा अन्य धारिलो हतियार फेला पर्नुका साथै रगतका टाटाहरुसमेत देखिएको प्रनि ओलीले बताए । उनका अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले मुचुल्का संकलन तथा शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिरहेको उनको भनाइ छ । मृतक लिम्बूकी श्रीमति इजरायलमा रहेकोमा श्रीमानलाई फोन गर्दा फोन नउठेपछि स्थानीयलाई फोन गरी बुझ्दा हत्या भएको पाइएको हो । लिम्बूको हत्या गरी पानीको ट्याङ्कीमा फालिएको स्थानीयवासीले बताएका छन् ।