इटहरीः स्वचालित हतियार देखाएर दिउँसै सुन पसल लुटपाट प्रयासमा संलग्नमध्ये दुई जना माओवादी जनसेनाका पूर्वलडाकु र नेपाली सेनाका पूर्वजवान रहेको पाइएको छ ।
पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेका ६ जनामध्ये एक जना माओवादीका पूर्वलडाकु र अर्का एक जना नेपाली सेनाका पूर्वजवान रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । स्वचालित हतियारसहितको उनीहरुको समूहले मोरङको सुन्दरहरैँचा नगरपालिका १०, विराटचोकस्थित त्रिवेणी टोलमा रहेको शिवपञ्चायन ज्वेलर्समा गत साउन १ गते लुटपाटको प्रयास गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जीसीका अनुसार पक्राउ परेका ६ मध्ये सुनसरीको गढी गाउँपालिका १ निवासी ४५ वर्षीय डाइमन्ड भनिने प्रमोद चौधरी माओवादी जनसेनाका पूर्वलडाकु हुन् । मानिसको हत्यामा संलग्न उनीविरुद्ध यसअघि सुनसरीबाट कर्तव्य ज्यान मुद्दासमेत चलेको थियो । उनी उक्त मुद्दामा कैद सजाय भुक्तान गरी डेढ वर्षअघि मात्र छुटेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी २०५७ सालदेखि २०६३ सम्म तत्कालीन विद्रोही माओवादीको लडाकुको रुपमा कार्यरत थिए । उनी बुधबार दिउँसो सुनसरीबाट पक्राउ परेका हुन् । उनीसँगै पक्राउ परेका इटहरी उपमहानगरपालिका २० तरहरामा डेरा गरी बस्ने ३९ वर्षीय चन्द्रबहादुर राई नेपाली सेनाको शेरजङ्ग गणमा कार्यरत पूर्वजवान रहेको अनुसन्धानले देखाएको मोरङ प्रहरी प्रमुख जीसीले बताए । तीन वर्षअघि मात्र उनले सो गणबाट जागिर छोडेका थिए । लुटपाट प्रयास घटनामा प्रयोग भएको हतियार ल्याउने, त्यसको व्यवस्थापन गर्ने र लुकाउने कामको नेतृत्व उनै चन्द्रबहादुरले गरेको प्रहरीको दाबी छ । हतियार कहाँबाट ल्याइएको हो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
सुन पसल लुटपाट प्रयासमा खगेन्द्र थापाले सञ्चालन गरेको पसलभित्र स्वचालित हतियारसहित चन्द्रबहादुर र प्रमोद प्रवेश गरेको खुल्न आएको छ । अन्यले वरिपरिबाट घटनास्थलको रेकी गरी बसेको पाइएको प्रहरी प्रमुख जीसीले जानकारी दिए । दुईमध्ये चन्द्रबहादुरले एसएमजी र प्रमोदले पेस्तोल बोकेर पसलभित्र प्रवेश गरेको सीसीटीभी फुटेजले प्रमाणित गरेको उनको भनाइ छ । उनीहरुको समूहले सुनसरीमा लुटपाटको योजना बनाई त्यसतर्फ मुभ भएको खुल्न आएको छ । लुटपाटको प्रयास असफल भएपछि उनीहरु मोटरसाइकल र अटो टेम्पोमा चढी घटनास्थलबाट फरार भएका थिए । सो दिन घटनामा संलग्न सबै जना बुढी खोला हुँदै इटहरीमै आएर बसेको खुल्न आएको छ । घटनामा प्रयोग भएको हतियार सुन्दरहरैँचा ५ मा रहेको नमूना सामुदायिक वन भित्रको करमको रुखको टोड्काभित्र कार्टुनमा लुकाएर राखिएको अवस्थामा बरामद गरिएको मोरङ प्रहरी प्रमुख जीसीले बताए । लुटपाटमा सात जना संलग्न भएपनि थप एक जनाको पहिचान खुल्न बाँकी रहेकाले उसको खोजीकार्य तिव्र भएको र ती व्यक्ति पनि चाँडै पक्राउ परी कारबाहीको दायरामा आउने प्रहरीको भनाइ छ । पक्राउ परेको गिरोह पूर्वका विभिन्न स्थानमा गैरकानूनी एवं संगठित रुपमा हतियारको प्रयोग गरी लुटपाट तथा आतङ्क मच्चाउने कार्यमा सक्रिय रहेको पुष्टिसमेत भएको प्रहरी प्रमुख जीसीले बताए । उनीहरुविरुद्ध प्रहरीले हातहतियार तथा खरखजाना, डाँका, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित चार ओटा कसुरमा मुद्दा चलाउन बुधबार म्याद थप गरी विस्तृत अनुसन्धान अगाडि बढाएको छ ।