धरान: सुनसरीको धरानमा कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेल श्रावण ११ गतेदेखि लगाइएकोमा स्थानीयले खोप वितरणमा राजनीति भएको आरोप लगाएका छन् ।
धरान उपमहानगरपालिकाले दुई दिन भेरोसेल खोप लगाउने भनेर सूचना निकालेको थियो । दुई दिन खोप अभियान अव्यवस्थित भएपछि १ दिन थप गरेर आज पनि भेरोसेल खोप ७ वटै केन्द्रहरुमा लगाइएको हो । जसमा उमेरको मापदण्ड तोकेर लगाउने भनिएको खोप जथाभावी लगाइएको आरोप स्थानीयले लगाएका छन् । ५५ वर्षदेखि माथि उमेर समुहलाई प्राथमिकतामा राखेर लगाउने भनिएको खोप विभिन्न राजनीतिक तथा पहुँचवालाको सिफारिसमा जथाभावी लगाइएको खोप नलगाई फर्किनेहरु बताउँछन् । अव्यवस्थित तरिकाले खोप लगाइएको र तोकिएको उमेर र स्थानविपरीत जथाभावी खोप लगाइएका कारण आज १ दिन थप गरेर हिजो बाँकी रहेका ५५ वर्षभन्दा माथि उमेरका सर्वसाधारणलाई खोप लगाउने व्यवस्था गरिएको धरान १५ का वडाध्यक्ष नरेश इवारमले बताए ।
कतै खोप सकियो, कतै राति ९ बजेसम्म लगाइयो
११ गतेदेखि लगाइएको खोप धरान उपमहानगरपालिकाले व्यवस्थित तरिकाले लगाउन नसकेपछि भोलिपल्ट १२ गते झन भीडभाडका साथ खोप अभियान सुरु भयो । धरान ८ सभागृहमा सार्वजनिक यातायातका मजदुरहरु र शिक्षकहरुसमेत रहेकाले खोप पर्याप्त नभएपछि दिउँसै खोप लगाउने काम बन्द हुन पुग्यो । १५ नम्बर वडामा सहज र सजिलो भएको खबर पाएकाले सबैजना त्यहाँबाट ज्ञानचक्षु विद्यालय आएको यातायात मजदुर जयप्रकाश तिगेला र शिक्षक आशिका खड्कीले बताए । धेरै भीडभाड भएकोले थेग्न नसकेपछि सबै ज्ञानचक्षु विधालयमा प्रवेश गर्न पुगे । त्यहा पनि खोप पर्याप्त नभएपछि भोलि लगाउने आशा देखाएर दिउसो ५ः२० बजेतिर बाँकी रहेको खोपसमेत लिएर कर्मचारीहरु फर्किए । उता धरान १८ मा रहेको खोप केन्द्र कार्मेल हाइ स्कुलमा भने व्यवस्थित तरिकाले राति ९ः०० बजेसम्म भए पनि खोप लगाएर आएको स्थानीयले बताएका छन् ।
अनुगमन गर्नेले नै बाहिरको मान्छे छिराएको भन्दै ज्ञानचक्षु विद्यालयमा १ घण्टा खोप अभियान स्थगित
११ र १२ गते सञ्चालन भएको खोप अभियान अव्यवस्थित भएपछि व्यवस्थित तरिकाले सञ्चालन गर्न धरान उपमहानगरपालिकाले आदेश दिँदै सबै खोप केन्द्रहरुमा अनुगमनका लागि कर्मचारी खटाएको थियो । धरान १५ ज्ञानचक्षु विद्यालयमा आज सञ्चालन भइरहेको खोप अभियानमा जिल्लाबाट आएको भन्दै अनुगमनमा खटिएका कर्मचारी मदन खनालले धरान बाहिरको शिक्षकलाई धमाधम खोप लगाइदिएको आरोप स्वयंसेवकको रुपमा खटिएका युवा नेता कुमार भारतिले लगाएका थिए । भारतिले अनुसार खोप लगाउने काम राम्रोसँग सञ्चालन भएको र अनुगमनको नाममा जथाभावी मान्छे घुसाएका कारण हामी खट्न सक्दैनौ भन्दै गेट खोल्न लगाइदिएको र आफैँ मिलाउनुस भन्दै बाहिर निस्केको बताएका छन् । यता, अनुगमनमा आएका मदन खनालले भने आफूले शिक्षकहरुले खोप लगाउन पाउने भनेको र कुन शिक्षक प्रवेश गरेको थाहा नभएको बताएका छन् । करिब १ घण्टा स्थगित भएको खोप अभियान सीमित डोज रहेको जानकारी गराउँदै असन्तुष्ट स्थानीयहरुसामु केही बेरमै कर्मचारीहरुले सुचारू गरेका थिए ।