इटहरीः झापाको बिर्तामोडमा आयोजित मेची तेक्वान्दो इन्डो–नेपाल च्याम्पियनसिप–२०२६ मा इटहरीको चन्द्रमा तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै चार स्वर्ण पदक हात पारेको छ।
प्रतियोगितामा चन्द्रमा तेक्वान्दो डोजाङका खेलाडीहरूले गेरुगी, व्यक्तिगत पुम्से र पियर पुम्से विधामा प्रतिस्पर्धा गर्दै चार स्वर्ण पदक जितेका हुन्। प्रतियोगितामा कोशी प्रदेशका मुख्यमन्त्री प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
चन्द्रमा तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक कुमार गुरुङका अनुसार गेरुगी विधामा सुदिना नेपालले स्वर्ण पदक जितिन्। यस्तै व्यक्तिगत पुम्सेतर्फ शान्ति राईले स्वर्ण हात पारिन्।
त्यसैगरी १२ वर्षमुनिका खेलाडीहरूको प्रतिस्पर्धाअन्तर्गत पियर पुम्सेमा सेलिना कार्की र प्रभास श्रेष्ठको जोडीले स्वर्ण पदक जितेको प्रशिक्षक गुरुङले जानकारी दिए। पियर पुम्सेकै अर्को स्पर्धामा शान्ति राईले पनि स्वर्ण पदक जित्दै व्यक्तिगत रूपमा दोस्रो स्वर्ण हात पारिन्।

चन्द्रमा डोजाङका खेलाडीहरूले स्वर्णमा मात्र सीमित नभई अन्य विधामा पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। १२ वर्षमुनिको व्यक्तिगत पुम्सेमा सेलिना कार्की, प्रभास श्रेष्ठ र दिलकुमारी मगरले दोस्रो स्थान हासिल गर्दै रजत पदक जितेका छन्।
कम उमेर समूहका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा चन्द्रमा तेक्वान्दो डोजाङका खेलाडीहरूले देखाएको प्रदर्शनले इटहरीको तेक्वान्दो क्षेत्रमा नयाँ पुस्ताको सम्भावना देखाएको प्रशिक्षक गुरुङले बताए।

प्रशिक्षक गुरुङका अनुसार नियमित प्रशिक्षण, अनुशासन र खेलाडीहरूको मेहनतका कारण प्रतियोगितामा अपेक्षाकृत राम्रो नतिजा हासिल गर्न सफल भएको हो। प्रतियोगिताबाट प्राप्त उपलब्धिले आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका लागि खेलाडीहरूलाई थप उत्साहित बनाएको उनले बताए।
चन्द्रमा तेक्वान्दो डोजाङले विभिन्न उमेर समूहका खेलाडीलाई प्रशिक्षण दिँदै आएको छ। पछिल्लो उपलब्धिले इटहरीबाट तेक्वान्दो खेलमा नयाँ प्रतिभा उत्पादन भइरहेको तथ्यलाई समेत थप बलियो बनाएको छ।




















