इटहरीः बुधबारको शेयर बजारमा पनि अघिल्लो दिनको जस्तै उत्साहजनक कारोबार हँदा शेयर बजार परिसूचक नेप्से १५ अङ्कले बढेर ३०९४ दशमलव ९४ अङ्क कायम भएको छ ।
बजारको परिसूचक देखाउने सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव २ अङ्कले वृद्धि भएर ५७४ दशमलव ३२ अङ्कमा पुगेको छ । बुधबार म्युचुअल फण्ड, उत्पादन, निर्जीवन बीमा र वाणिज्य बैंक समुहको कारोबार घटेको छ भने अघिल्लो दिन कमजोर प्रदर्शन गरेका होटल तथा टुरिजम सेक्टरका लगानीकर्ताले राम्रो कमाइ गर्न सफल भएका छन् । होटल तथा टुरिजम समुहले अघिल्लो दिनको तुलनामा ७ दशमलव ९ प्रतिशतको कारोबार वृद्धि गरेका छन् ।
आज २ सय १९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँमा कारोबार भएका छन् । बुधबार चन्द्रागिरि हिल्स, मल्टिपर्पोज फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ ।