विराटनगरः कोरोना संक्रमण फैलिएपछि झापाको दमक नगरपालिका सातदिने पूर्ण ‘लकडाउन’मा छ ।
जिल्लामै धेरै संक्रमित फेला पर्न थालेपछि नगरपालिकाले कडा लकडाउनमा जाने निर्णय गरेको मेयर रोमनाथ ओली बताउँछन् । दमकमा दोस्रो लहरमा संक्रमित बढेपछि स्थानीय अस्पतालका बेड भरिएका छन् । दमकको छिमेकी मोरङको उर्लाबारी नगरपालिकाले पनि व्यवसाय तथा बजार बन्द गराई कडाइका साथ लकडाउनमा जाने निर्णय गरेको छ । मंगलबार ९हिजो०देखि साउन १९ गते रातिसम्म नगरका सम्पूर्ण सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय भएको नगरपालिका कार्यालयले जनाएको छ । उर्लाबारी नगरपालिकाको विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोनाको ‘चेन ब्रेक’ गर्न बुधबार बिहानबाट लागु हुने गरी औषधि, दूध डेरी, कलेजका परीक्षा र खानेपानी सेवाबाहेक अरु सबै सेवा तथा व्यवसायहरु बन्द गर्ने निर्णय गरेको हो । मेयर खड्ग फागोले कडा नियमसहितको लकडाउनमा नगए थप जोखिम हुने देखिएकोले यस्तो निर्णय गरिएको बताए । “संक्रमणको जोखिम थप बढेकोले एक सातासम्म संक्रमणको फैलावट रोक्न यस्तो निर्णय गरिएको हो,” उनले भने ।
प्रदेश राजधानी विराटनगरमा संक्रमणदर घटेको छ । तर, प्रशासन र महानगरपालिकाले साँझ ८ बजेसम्म खोल्न दिएको बजार तथा पसलको अवधि घटाएर साँझ ६ बजे गरेको छ । महानगरका मेयर भीम पराजुली भन्छन्, “यहाँ संक्रमित थपिने क्रम घटे पनि हामीले धेरै जोखिम नलिन दुई घण्टाअघि नै बजार बन्द गराउने निर्णय गरेका हौँ ।” उनले दोस्रो लहर सकिएर फेरि समस्या बढाउन सक्ने तेस्रो लहरसमेत आउने जोखिम देखिएकोले स्वास्थ्यसम्बन्धी मापदण्डका विषयमा सचेत रहन महानगरवासीलाई आग्रह गरिएको सुनाए । सुनसरीको धरान उपमहानगरपालिकामा संक्रमित थपिने र मृत्युसमेत बढ्न थालेसँगै उपमहानगरले बजारमा कडाइ गर्न थालेको छ । उपमहानगरका प्रतिनिधि र सुरक्षाकर्मीले संयुक्त रुपमा बजार अनुमन गरी मास्क नलगाउनेलाई कारबाही गर्न थालेका हुन् । मास्क नलगाउनेलाई कार्यस्थलमै गई मास्क वितरण गर्ने र ‘एन्टिजेन टेस्ट’ गर्न थालिएको छ ।
मेयर तिलक राईले भने, “खोप अभियानसमेत सञ्चालन भइरहेकोले विस्तारै संक्रमणमा कमी आउने अपेक्षा गरेका छौँ ।” उनले संक्रमण घटाउन सबै सचेत हुनुपर्नेमा जोड दिए । पछिल्लो समय सुनसरीको इटहरी उपमहानगरपालिका पनि संक्रमणका हिसाबले ‘हटस्पट’ बन्न पुगेको छ । उपमहानगरले नगरवासीलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । कर्मचारीमा संक्रमण पुष्टि भएपछि उपमहानगर कार्यालयबाट हुँदै आएको सेवा यही साउन १८ गतेसम्मको लागि बन्द गरिएको छ । झापाको शिवसताक्षी नगरपालिकाले पनि संक्रमणको चेन बे्रक गर्न एक सातासम्मको लागि लकडाउनमा जाने निर्णय गरेको छ । विराटनगरस्थित कोसी अस्पतालका मेसु चुमनलाल दास मानिसबीच दूरी कायम गराउँदा भाइरसको फैलावट रोक्न मद्दत मिल्ने भएकोले विश्वव्यापी रुपमा लकडाउनलाई सहारा बनाउने गरिएको बताउँछन् । उनले भने, “मास्क लगाउने र साबनु–पानीले हात धुने अनि धेरै भिड भएको ठाउँमा नगए महामारीमा बच्न सकिन्छ ।” उनले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न हेलचेक्र्याइँ गर्न नहुने बताए । -बाह्रखरीबाट