इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले पछिल्लो पटक असार ११ गतेदेखि सुरु गरेको खोप कार्यक्रममा बुधबार पनि भीडभाड कम भएको छैन ।
उपमहानगरले ५५ वर्ष वा सोभन्दा माथिका जेष्ठ नागरिक, विद्यालयका शिक्षक तथा कर्मचारी र सार्वजनीक यातायातका चालक र सहचालकको लागि लगाइरहेको खोप कार्यक्रमा प्रभावकारी व्यवस्थापन नगर्दा भीडभाड मात्र होइन, भद्रगोल नै भइरहेको छ । इटहरी उपमहानगरपालिकाले साउन ११ र १२ गते इटहरी अस्पताल, परिवार स्वास्थ्य केन्द्र इटहरी ५, आर्युवेद औषधालय इटहरी २, हाँसपोसा स्वास्थ्य चौकी, खनार स्वास्थ्य चौकी, पकली स्वास्थ्य चौकीमा २० वटा वडाका नागरिकको लागि खोप वितरण गरेको छ । दुई दिनसम्म कोरोना खोप लगाउँदा पनि नसकिएकाले जिल्ला स्वास्थ्य कार्यालयले भेरोसेल खोप लगाउने मिति दुई दिन अझै रहने बताएको छ । सोही बमोजिम इटहरीमा पनि विहिबारसम्म खोप लगाउने कार्यतालिका छ । विभिन्न वडाका लागि छुट्टाछुट्टै खोप केन्द्रको व्यवस्था गरिएको भएपनि इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको जनता माध्यमिक विद्यालयमा कोरोना खोप लगाउनेको संख्या अत्याधिक रहेको छ ।
उपमहानगरले भने अन्य ठाउँमा कोरोना खोप लगाउन नागरिकलाई सुझाए पनि यहीँ आएकाले भीडभाड बढेको बताएको छ । तर, यहाँ खोप लगाउन आएका नागरिकले भने अन्य तोकिएका स्थानमा पनि भीड उस्तै भएकाले छिटो खोप लगाउने दाउमा यहाँ आएको बताएका छन् । यहाँ आउदा सजिलै खोप पाउने आशमा आएको सबैको आशा निराशामा परिणत भएको छ । यहाँ खोप लगाएर सुरक्षित हुनेभन्दा उल्टै कोरोना लाग्ने डर अधिकांशलाई छ । मंगलबार झरिका बाबजुद पनि खोप लगाउन आएका इटहरीवासी बुधबार चर्को घाम सहेर लाम लागेका छन् । यसमा जेष्ठ नागरीक र अशक्तलाई समस्या भएको छ ।