इटहरीः कोरोना भाइरस विरुद्धको अमेरिकी खोप जोन्सन एन्ड जोन्सन लगाउँदा साइड इफेक्ट देखिन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार खोप लगाएको ठाउँमा दुख्ने, हल्का रातो हु्ने, सुन्निने, चिलाउने, आलस्यता आउने, थकाइ लाग्ने, कमजोरी महसुस हुने, जाडो भएको महसुस हुने, टाउको दुख्ने, ज्वरो आउने, जीउ र जोर्नी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, घाँटी दुख्ने, खोकी लाग्नेजस्ता सामान्य लक्षणहरु देखिन सक्छन् । तर यस्ता लक्षणहरु एक दुई दिनमा स्वतः सामान्य हुने मन्त्रालयले जनाएको छ । तर कुनै असामान्य वा गम्भीर लक्षण देखिए वा चिन्ता वा शंका लागेमा चिकित्सकको परामर्श लिन मन्त्रालयले सुझाएको छ । लगातार वा असह्य टाउको दुख्ने, कम्पन हुने, धमिलो देखिने, मानसिक स्थितिमा परिवर्तन हुने, खोप लगाएको ठाउँबाहेक अन्य ठाउँमा निलो दाग वा सानो थोप्ला जस्तो दाग देखिने, सास फेर्न गाह्रो हुने छाति दुख्ने, लगातार पेट दुख्ने, खुट्टा दुख्ने वा सुन्निने, शरीरको कुनै पनि अङ्ग कमजोर वा लुलो हुने जस्ता गम्भीर लक्षण देखिए तुरुन्त चिकित्सकको सल्लाह लिन मन्त्रालयले अनुरोध गरेको छ ।
यसैगरी, कसैकसैमा गम्भीरि प्रकृतिको लक्षण एनाफाइलेक्सिस देखिन सक्ने र यो लक्षण खोप लगाएको पाँच मिनेटदेखि आधा घण्टाभित्र देखिन सक्ने हुँदा खोप लगाएर आधा घण्टा खोप केन्द्रमै आराम गर्न सल्लाह दिने गरिएको छ । एनाफाइलेक्सिसको व्यवस्थापन तत्कालै गर्नुपर्ने हुँदा एड्रेनालिन र ०.५ मिलिको सिरिन्ज तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले अपिल गरेको छ ।